सूर्यदर्शन सहकारीका पूर्वअध्यक्षसहित तीनजनाविरुद्ध डिफ्युजन नोटिस

सोमबार, १५ माघ, २०८०
डिजिटल संस्करण

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा भएको अनियमितताका मुख्य तीन आरोपीविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ । ठगी मुद्दाका मुख्य प्रतिवादीहरू सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जिबी), अर्का पूर्वअध्यक्ष भूपेन्द्र राई र वर्तमान अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध डिफ्युजन नोटिस जारी भएको कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

हाल फरार रहेका उनीहरूविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले १२ माघमा डिफ्युजन नोटिस जारी गरेको थापाले बताए ।

पोखरा महानगरपालिका– ४ नालाको मुखस्थित सहकारीका चारजनाविरुद्ध डिफ्युजन नोटिस जारी गर्न कास्की प्रहरीले पुस पहिलो साता प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरी पठाएको थियो । प्रहरीले डिफ्युजन नोटिस जारी गर्ने तयारी गरेपछि कास्कीको मादी गाउँपालिका– १० स्थायी घर भई हाल पोखरा– १२ लालीगुराँस टोल बस्ने महेन्द्र भोटेका नामले परिचित शिवबहादुर गुरुङले १६ पुसमा अदालतमा आत्मसमर्पण गरेका थिए । 
 

सुझावित समाचार