आचार्य गोपाल निर्देशित बाल मनोविज्ञानमा आधारित सर्ट फिल्म ‘किवोर्ड’को शुक्रबार विशेष प्रदर्शनी भएको छ। क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको उक्त फिल्मको प्रज्ञा प्रतिष्ठानमा बाल पुस्तक प्रदर्शनी– २०८० को क्रममा प्रदर्शन गरिएको हो।
फिल्ममा अभिभावकको डिभोर्स हुँदा बालबालिकाको मनोविज्ञानमा पर्ने असरलाई रचनात्मक ढंगबाट प्रस्तुत गरिएको छ। चलचित्रका प्रमुख पात्र जियान संगीतमा रुचि राख्छन्। उनी विद्यालयमा हुने गायन प्रतिस्पर्धामा भाग लिन्छन्। निरन्तर संगीत सिक्छन्। किबाेर्डसँगै रमाउँछन्। तर, घरमा हुने बाबा आमाको बेमेलले उनी विचलित भएका हुन्छन्। अभिभावकको खटपटले संगीतमा विलक्षण प्रतिभा भएका जियानको मस्तिष्कमा नकारात्मक प्रभाव पार्न थाल्छ। त्यसपछि उनको सांगीतिक जीवन कसरी अगाडि बढ्छ ? निर्देशक आचार्य गोपालले फिल्ममा प्रस्तुत गरेका छन्।
यस फिल्मलाई अब अन्तर्राष्ट्रिय फिल्म महोत्सव र स्कुलहरूमा प्रदर्शन गर्ने निर्देशक आचार्यको भनाइ छ। प्रदर्शनीपछि उपस्थित अधिकांश दर्शकले बालबालिकाको मनोविज्ञानलाई फिल्मले मनछुने ढंगबाट प्रस्तुत गरेको र यस्तो फिल्मको पहिलोपटक अनुभव गर्ने मौका जुरेको प्रतिक्रिया दिएका थिए।
क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको फिल्म सन्देश आचार्य र कौशलकुमार भट्टराईले निर्माण गरेका हुन् । आफू एक शैक्षिक अभियन्ता भएकाले पनि कथाबाट प्रभावित भएर फिल्म निर्माण गरेको सन्देश आचार्यले बताए। फिल्ममा आलोक चौरेली, कृष्ण भक्त महर्जन र रश्मि भट्टको मुख्य अभिनय रहेको छ।
फिल्ममा सुजय गौतमको छायांकन, दिवस धितालको सम्पादन, टेकेन्द्र नेपालीको संगीत, भरत कंडेलको साउण्ड डिजाइन, भीष्म जोशीको कास्टिङ, आशुका अर्याल सह–निर्देशन, धीरज अधिकारीको लोकेसन साउन्ड र सरोज खडका प्रडक्सन म्यानेजर रहेका छन्।
चलचित्र हेरेपछि बालसाहित्यकार तथा गीतकार रामबाबु सुवेदीले सिनेमाको माध्यमबाट बालकथाहरूलाई बाहिर ल्याउनु नेपाली बालसाहित्यको निम्ति ठूलो योगदान पुग्ने बताए।