जलाउँदै गरेको शव लिखु नदीले बगायो, मलामीकाे भागदाैड

आइतबार, १४ माघ, २०८०
डिजिटल संस्करण

लिखु– २ जलविद्युत् आयोजनाले विद्युतगृहबाट विनासूचना एकैपटक ड्याम खोलिदिँदा जलाउँदै गरेको शव नदीले बगायाे

उमाकुण्ड गाउँपालिका– १ गुम्देलस्थित नदी किनारमा जलाउँदै गरेको शव लिखु नदीले बगाएको छ ।  शनिबार साँझ गुम्देल– १ का मृतक ३२ वर्षीय झपडबहादुर थापाको शव जलाउने क्रममा लिखु– २ जलविद्युत् आयोजनाले विद्युतगृहबाट विनासूचना एकैपटक ड्याम खोलिदिँदा जलाउँदै गरेको शव नदीले बगाएको हो । जल्दै गरेको शव चितासहित बगेको छ ।

अकस्मात् नदीमा बाढी आएपछि दाहसंस्कारका लागि नदी किनारमा पुगेका मलामीको समेत भागदौड मच्चिएको थियो । साँझको समयमा नदीमा आएको बाढीले नदी किनारमा भागदौड मच्चिँदा मलामीहरू सम्पर्कविहीन भएका थिए । नदीले शवसँगै मलामीसमेत बगाएको आंशका गरिए तापनि सबै मलामी आइतबार बिहान मात्रै सम्पर्कमा आएको स्थानीय राजेन्द्र बस्नेतले जानकारी दिए । 

उनले भने, ‘जलविद्युत् आयोजनाका कर्मचारीको ज्यादतीले गर्दा हामीले नदी किनारमा शवसमेत जलाउन पाएका छैनौँ । अहिले पनि हराएको शव खोजी कार्यमा जुटेका छौँ ।’ 

नदी किनारामा जलाउँदै गरेको शव बगाएको र दाहसंस्कारका लागि गएका मलामीसमेत हराएको आशंकामा शनिबार साँझदेखि नै सोलुको किग्जा प्रहरी चौकी र रामेछापको बाम्तीको प्रहरी चौकीबाट शव खोजी कार्यको लागि प्रहरी परिचालन गरिएको छ । 

स्थानीय र प्रहरी शव खोजी कार्यमा जुटे पनि अहिलेसम्म शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए । 
 

सुझावित समाचार