कञ्चनपुरमा जोखिमयुक्त औषधि बेच्ने एक मेडिकल सञ्चालक पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका– २ बंकका मेडिकल व्यवसायी देवसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार कृष्णपुर– २ बंकस्थित कञ्चन क्लिनिक एन्ड फार्मेसीका सञ्चालक धामीलाई पक्राउ गरिएको हो। मेडिकलमा खानतलासी गर्ने क्रममा विभिन्न जोखिमयुक्त औषधि भेटिएपछि उनी पक्राउ परेका हुन्।
प्रहरीले उक्त क्षेत्रका ९ मेडिकलमा चेकजाँच गरेको थियो। सो क्रममा नेपाल औषधि व्यवस्था विभागले तोकेका मापदण्डविपरीत औषधि बेचबिखन गर्ने गराउने र विनाइजाजत औषधि बेचबिखन गरिरहेको पाइएकाले औषधिसहित सञ्चालकलाई पक्राउ गरिएको प्रवक्ता डाँगीले बताए।
पक्राउ परेका औषधि व्यवसायी धामीका विषयमा थप अनुसन्धान गरेर कारबाही गरिने प्रहरीले जनाएको छ।