नेपाल पञ्चांग निर्णायक विकास समितिले ०८१ का लागि १५ पात्रो (पञ्चांग)लाई स्वीकृति दिएको छ।
०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चांग)लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ।
आगामी वर्षका लागि तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशंकर गरी १५ पात्रो (पञ्चांग)लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहेका कार्यकारी निर्देशक ढुंगेलले बताए।
समितिले ०७९ देखि प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चांगम्’लाई पनि निरन्तरता दिइने जनाएको छ।
०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चांग) प्रकाशन भइसक्थ्यो। ०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो। त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो। गठन आदेशअनुसार समितिले स्वीकृति दिएका पात्रो मात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ।