मधेशमा साइकल खरिद भ्रष्टाचार प्रकरण : तत्कालीन प्रदेश सचिव भुसाल र सिँचाइ कार्यालय प्रमुख झा दोषी ठहर

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

मधेशमा साइकल खरिद भ्रष्टाचार प्रकरणमा विशेष अदालतले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिँचाइ कार्यालय प्रमुख भगवान झालाई दोषी ठहर गरेको छ । दुवैलाई तीन–तीन महिना कैद तथा १०–१० हजार रुपैयाँ जरिवानाको फैसला भएको हो । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले बताए । ८ माघदेखि उक्त मुद्दामा लगातार सुनुवाइ हुँदै आएको थियो । चौथो दिन सुनुवाइ सकिएपछि फैसला गरेको हो । 

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ०७७ मा साइकल खरिद गर्दा अनियमितता भएको थियो । त्यतिवेला झा मन्त्रिपरिषद् कार्यालयको खरिदविज्ञ थिए । कम्पनी नै नखुलाई ११ करोडका १७ हजार साइकल किनिएको विषयमा नयाँ पत्रिकाले पहिलोपटक १४ असोज ०७८ मा समाचार प्रकाशित गरेको थियो । त्यसयता यस विषयमा निरन्तर फलोअप गर्दै आएको थियो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत ०७७ मा कम्पनी नै नखुलाई खरिद गरेको थियो ११ करोडका १७ हजार साइकल 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी १८ साउन ०७९ मा दुईवटा मुद्दा चलाएको थियो । जसमध्ये एउटामा आंशिक ठहर र अर्कोमा सफाइ हुने फैसला भएको हो । पहिलो मुद्दामा सात प्रतिवादी रहेकोमा दुईजनामाथि कसुर ठहर र पाँचजनाले सफाइ पाएका हुन् ।

भुसाललाई अख्तियारले १० करोड ३३ लाख रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा चलाएको थियो । लेडिज साइकल खरिदका लागि उनलाई अख्तियारी प्रत्यायोजन गरिएको थियो । उनी यस विषयमा प्रमुख जिम्मेवार थिए । खरिदको सुरुवातदेखि सार्वजनिक खरिद ऐन र नियमावलीको पालना नगरी सम्झौता गरेको आरोप उनीमाथि थियो । अम्बिका ब्रान्डको साइकल मगाउने भनिएकोमा कमसल र ब्रान्ड नखुलेका साइकलको आपूर्ति स्वीकार गरी भुक्तानीसमेत गर्दा सरकारलाई नोक्सानी भएको अभियोग भुसालउपर थियो । 

त्यस्तै, मन्त्रिपरिषद् कार्यालयमा खरिदविज्ञका रूपमा रहेका झाले स्थानीय फर्मबाट खरिद गरी आपूर्ति गरिएका कम गुणस्तर र ब्रान्ड नखुलेका साइकलको परीक्षण प्रतिवेदनविना नै भुक्तानी सिफारिस गरेका थिए । आपूर्तिकर्तासँग खरिद सम्झौतासमेत नगरी आफूलाई प्रत्यायोजित नै नगरिएको अधिकार प्रयोग गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो । 

मुद्दा दायर गरिएका मन्त्रिपरिषद् कार्यालयका सहलेखापाल राजाराम मण्डल, भण्डार/जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो र भण्डार शाखाका जितमोहनकुमार दासले भने सफाइ पाएका छन् । ओम सत्य साई प्रालिका म्यानेजिङ डाइरेक्टर रेनु अग्रवालले पनि सफाइ पाएकी छिन् । यसै विषयमा दायर अर्को मुद्दामा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा उपसचिव दिलीपकुमार प्रधान, अधिकृत सुरेन्द्रकुमार कर्ण र सहलेखापाल मण्डललाई प्रतिवादी बनाइएको थियो । भगवान झासमेत यसमा प्रतिवादी थिए । तर, सबैले सफाइ पाएका छन् । 

सुझावित समाचार