मेलम्चीको पानी दुई सातापछि पूर्ण क्षमतामा वितरण

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

बाँकी रहेको नयाँ पाइपलाइनमा पानी परीक्षण जारी, कतिपय स्थानमा विद्युत् प्राधिकरणले पाइपलाइन बिथोलेको आरोप

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले दुई सातापछि पूर्ण क्षमता (फुलफेज)मा मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । आयोजनाले काठमाडौं उपत्यकामा बिछ्याएको एक हजार १० किलोमिटर पाइपलाइनबाट पानी वितरणको तयारी गरेको हो । हाल पाँच सय किलोमिटर नयाँ पाइपलाइन र पाँच सय किलोमिटर पुरानो पाइपलाइनबाट मेलम्चीको पानी वितरण भइरहेको छ । 

पानी नपठाएको पाँच सय १० किलोमिटरमा हाल पानी वितरण परीक्षण भइरहेको र आगामी दुई साताभित्र थप पाइपलाइनमा क्रमशः पानी वितरण सुरु हुने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले जानकारी दिए । असारसम्ममा पूर्ण क्षमतामा पानी वितरण गरिसक्ने उनको भनाइ छ । त्यसपछि पुरानो पाइपलाइनबाट पानी वितरण गर्न छाडिनेछ । 

राजेन्द्र सापकोटा, प्रोजेक्ट डाइरेक्टर, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय
हाल उपत्यकामा नयाँ पाइपलाइनबाट पाँच सय किमिमा पानी वितरण भइरहेको छ, बाँकी पाँच सय १० किमिमा पानी परीक्षण भइरहेको छ । आगामी दुई सातापछि क्रमशः सो पाइपबाट पनि पानी वितरण गर्न थाल्छौँ ।   

हाल मेलम्ची खानेपानी आयोजना वितरण चक्रपथभित्र मात्रै केन्द्रित छ भने यसमा पनि कलंकी र स्वयम्भू क्षेत्रमा पाइपलाइन राखिँदै छ । अन्य क्षेत्रमा भने पुरानो र नयाँ पाइपबाट पानी वितरण गरिँदै आएको छ । बाँकी पाँच सय १० किमिमा आगामी दुई साताभित्र  परीक्षण सकेर स्थायी रूपमै सबै नयाँ पाइपबाट मेलम्चीको पानी वितरण गरिनेछ । नयाँ पाइपलाइनबाट पानी वितरण गर्दा चुहावट तथा लिकेजको समस्या नहुने निर्देशनालयका प्रोजेक्ट डाइरेक्टर सापकोटाले जानकारी दिए । यस वर्ष सरकारले १ माघदेखि मेलम्चीको खानेपानी वितरण सुरु गरेको हो । सरकारले मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरण गर्ने लक्ष्य लिएको छ । 

सरकारले मेलम्चीको बाँध तथा हेडवक्र्स व्यवस्थित नगर्दा आगामी वर्ष पनि बर्खायाममा मेलम्ची पानी बन्द हुने अवस्था छ । हाल अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौं ल्याइएको छ । बर्खाका वेला बाँध तथा हेडवक्र्समा गेग्रान थुप्रिने र बाँध नै भत्काउन सक्ने भएकाले टनेलको ढोका बन्द गरिँदै आइएको छ ।

विद्युत् प्राधिकरणका कारण समस्या 
पिआइडीले मेलम्चीको खानेपानी वितरण गर्न यसअघि भूमिगत गरिसकेको पाइपलाइन नेपाल विद्युत् प्राधिकरणले कतिपय स्थानमा बिथोलेको छ । विद्युत्को तार भूमिगत गर्न सडक खन्दा खानेपानीको पाइप फुटेको छ भने कतिपय ठाउँमा प्राधिकरणले पाइप नै निकालिदिएको छ । ‘प्राधिकरणबाट काम हुँदा पाइप थिच्चिएको, फुटेको र कतै निकालेर फालेको पनि देखियो,’ प्रोजेक्ट डाइरेक्टर सापकोटाले भने, ‘यस्तै महानगरको ढल राख्दा पनि पाइपलाइन बिथोलिएको छ ।’ उनका अनुसार यस्तो समस्या कमलपोखरी, घट्टेकुलो, ललितपुर पाटन र सानेपा क्षेत्रमा बढी देखिएको छ । 

तार भूमिगत गर्दा भएको लापरबाहीले सबैतिर समस्या 
नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा फुटपाथ तथा सडक खन्दा सावधानी नअपनाएका कारण ठाउँ–ठाउँमा सडक अस्तव्यस्त बनेको छ । सडक अस्तव्यस्त र भद्रगोल पारेको भन्दै काठमाडौं महानगरपालिकाले ठाउँ–ठाउँमा तार भूमिगत गर्न सडक र फुटपाथ खन्न दिएको छैन । प्राधिकरणले तार भूमिगत गरिसकेपछि सडक पुरानै अवस्थामा पुर्‍याउनुपर्ने भए पनि अलपत्र छाड्ने गरेको छ । जसका कारण अन्य सरकारी निकायले बनाएका सडक संरचना टिकाउ र प्रभावकारी हुन सकिरहेका छैनन् । हाल बागमती करिडोर, धोबीखोला, पुरानो बानेश्वर, ललितपुर–पाटनललगायत क्षेत्रमा प्राधिकरण सडक तथा फुटपाथ बिगारेर छाडेको छ । कतिपय सडकमा तार भूमिगत गर्ने सामग्री फिँजाएर छाड्ने गरेको छ । 

सुझावित समाचार