सुन तस्करीमा संलग्न भन्सार अधिकृतसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश

बुधबार, १० माघ, २०८०
डिजिटल संस्करण

तीन सय ६२ केजी सुन तस्करीमा संलग्न भन्सार अधिकृतसहित ६ जनालाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ। 

भन्सार अधिकृत गणेशप्रसाद पौडेल, नासु वीरेन्द्र नेपाली तथा गिरोहमा संलग्न रहेको भन्दै मुद्दा दायर गरिएका कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, सुदर्शन गौतम र यादव पराजुलीलाई धरौटीमा छाड्ने आदेश भएको हो। 

उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासबाट बुधबार भन्सार अधिकृत पौडेल र नासु नेपालीलाई जनही पाँच लाख धरौटीमा छाड्ने आदेश भएको छ। त्यस्तै, सुदर्शन गौतम र यादव पराजुलीलाई जनही दुई लाख र कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टलाई जाही एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। 

भन्सार अधिकृत पौडेल र नासु नेपालीले आरसी लेखिएको सामान पुनः जाँचपासको लागि पठाउनुपर्नेमा नपठाएको अभियोग थियो। अर्का भन्सार अधिकृत सन्तोष चन्दलाई भने थुनामै राख्ने आदेश भएको छ। 

धरौटीमा छाड्ने आदेश भएका गौतम र पराजुली भन्सार एजेन्ट कम्पनीका प्रतिनिधि हुन्। उनीहरूले सुन लुकाएको ब्रेकसु भन्सारबाट छुटाएका थिए। श्रेष्ठ र भट्ट कार्गाे कम्पनीका सञ्चालक हुन्। 

ट्रान्स ग्लोबल सर्भिल प्रालिका सञ्चालक रहेका उनीहरूले सुन लुकाइएको ब्रेकसु आयात गर्ने रेडी ट्रेडसँग कुनै लिखित सम्झौता नै नगरी सुन लुकाइएको सामान ओसारपसार गरेको अभियोग थियो। उनीहरूलाई जिल्लाले थुनामा पठाएकोमा उच्च अदालतले धरौटी खुलाएको हो। 

तीन सय ६२ केजी सात सय ७८ ग्राम सुन तस्करीको अभियोगमा गत ३१ भदौमा जिल्ला अदालत काठमाडौंमा संगठित अपराध र सुन चोरी पैठारीको मुद्दा दायर भएको थियो। त्यसमध्ये ६० किलो ७ सय १६ ग्राम सुन सिनामंगलमा बरामद भएको थियो। 

सिआइबीले २५ जनालाई पक्राउ गरी मुद्दा दायर गरेकोमा भन्सार एजेन्ट रुक्मिनी सुब्बालाई धरौटीमा छाड्ने आदेश दिई अन्यलाई थुनामा पठाउने आदेश दिएको थियो। अन्यलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्चले सदर गरेको छ।
 

सुझावित समाचार