नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

बुधबार, १० माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू–१९ विश्वकपको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाउन सफल भयो। 

नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ६८ बलमा ४ चौका र १ छक्काकाे मद्दतमा ३९ रन बनाए।

पाकिस्तानी तीव्र गतिका बलरसामु नेपालका ब्याटर चल्न सकेनन्। आशा गरिएका ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीले राम्राे प्रदर्शन गर्न सकेनन्। उनीहरू दुवैजना ६–६ रनमै आउट भएपछि नेपाल सुरुबाटै दबाबमा रह्यो।

यस्तै, नेपालका लागि आकाश चन्द नटआउट रहँदै ११ बलमा एक चौका र एक छक्काकाे मद्दतले १६ रन जाेड्न सफल भए। दीपक डुम्रे २६ र सुवास भण्डारी २० रन बनाएर पेभेलियन फर्किए।

३७ बलमा ३ चौकाकाे मद्दतले २३ बनाएका कप्तान देव खनाल लामाे रर्ट हान्न खाेज्दा क्याचआउट भए। दीपेश कँडेल १३ र उत्तम मगरले ४ रन मात्र जाेड्न सके। नेपालले २५ रन अतिरिक्त पाएको थियो।

पाकिस्तानका लागि अरफात मिनहासले तीन विकेट, अहमद हुसैन र उबैद शाहले समान दुई/दुई विकेट लिए। यस्तै अलि अस्फद, खुबैव अली र अलि अस्फदले समान एक/एक विकेट झारे। 
 

सुझावित समाचार