राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको छ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले मधेशमाथि ६ विकेटको जित निकाल्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको हो। पुलिसले पाँच खेलमा १० अंक जोड्दै अंक–तालिको शीर्ष स्थानमा यथावत् छ । यता मधेशले सात खेलमा आठ अंक जोडेको छ। मधेश अंक–तालिकाको तेस्रो स्थानमा छ।
मधेशले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य पुलिसले १८.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो। पुलिसका लागि सुनिल धमलाले सर्वाधिक २८ रनको योगदान दिए। त्यस्तै, कुशल भुर्तेलले १९, आरिफ शेखले अविजित १६ र अमृत श्रेष्ठले अविजित १५ रन बनाए । मधेशका लागि रञ्जित कुमार र अर्निको यादवले समान दुई–दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले २४ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको योगफल बनाएको थियो। मधेशका लागि अर्निको यादवले २३, कप्तान हरिशंकर शाहले २२ र अभिशेक तिवारीले अविजित ११ रन बनाए।
पुलिसका लागि सागर ढकालले पाँच विकेट लिए भने ललितनारायण राजवंशीले चार विकेट झारे। त्यस्तै, रासिद खानले एक विकेट लिए।