हेटौँडामा यात्रुबस दुर्घटना, १० जना घाइते

बुधबार, १० माघ, २०८०
डिजिटल संस्करण

धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका- ६ पुतलीबजारमा बुधबार बिहान बस पल्टिँदा बसमा सवार १० जना घाइते भएका छन्।

फुर्केचौरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.३ख ५३०३ नम्बरको बस सडक किनारमा पल्टिएको हो। मकवानपुर प्रहरीका अनुसार सडकछेउमा रहेको टेलरलाई साइड दिने क्रममा बस पल्टिएको हो।

बसमा सवार १५ जनामध्ये १० जना घाइते भएको र सबैको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

बस दुर्घटना परी घाइते हुनेहरूमा हेटौँडा– १७ हटियाकी २५ वर्षीया पुष्पा डंगोल, २१ वर्षकी रूपा डंगोल, ५१ वर्षका शंकर राई, ५५ वर्षकी आशा राई, पर्सा जिल्लाको वीरगन्ज घर भई हेटौँडा १६ बस्ने २२ वर्षकी सीमा साह, मकवानपुरगढीका माइलीमाया थिङ, कुमारसिं गोले, हर्नामाडीका सोमलाल थिङ छन्।

यस्तै, दुईजना नाम स्पष्ट बनाउन नसक्ने ज्येष्ठ नागरिक रहेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताए।

सुझावित समाचार