चिसो छल्न ३९२ पाहुना चरा रारामा (फोटोफिचर)

बुधबार, १० माघ, २०८०
डिजिटल संस्करण

चिसो छल्न रारा आएका पाहुना चराहरूको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो । गणना कार्यमा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयको सहभागिता रहेको थियो ।

रारा तालमा प्रवासी चराहरू (migratory birds) गणना गर्ने क्रममा माघ ८ गतेको दिन रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र नेपाल सेनाको संयुक्त सहकार्यमा २४ सदस्य टोली चारवटा ग्रुपमा विभाजन भएर विभिन्न प्रवासी चराको गणना गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

चरा गणना गर्न निकुञ्जले चारवटा समूह बनाएर चराको सधैँ बसोवास गर्ने र तैरिने तालका निश्चित ठाउँहरूमा खटाएर सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म गणना गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी गराए ।

चारवटै टोलीले ल्याएका चराहरूको संख्या, प्रजातिहरूलाई छुट्याउँदा यो मौसममा साइबेरिया, गणनाको विवरणनुसार मरुल एक सय ७८ वटा,कालीजुरे हाँस ८१ वटा, हरियो टाउके हाँस एउटा, खोयाहाँस तीनवटा, सुनजुरे हाँस एक सय १७ वटा र सिउरे डुबुल्की चरा १२ वटा गरी जम्मा तीन सय ९२ वटा साइबेरियन चरा रारा तालमा पुगेको गणनाबाट पत्ता लागेको निकुञ्ज प्रमुख घिमिरेले जानकारी दिए ।

उनका अनुसार चिसो छल्न सयौँ चरा कैयौँ माइलको यात्रा गर्दै रारा आउने क्रममा कैयौँ चराको समूहबाट छुटेर, बाटो बिराएर, थाकेर बाटोमै मृत्यु हुने गरेको र पुस, माघमा रारामा पुगेका पाहुना चरा चार–पाँच महिनाको रारा बसाइपछि फर्किने गर्छन्।

चरा गणना २०१२ का अनुसार रारा राष्ट्रिय निकुञ्जमा  दुई सय ७२ प्रजातिका चराहरू पाइने यकिन गरिएको थियो । त्यसमध्ये ४९ प्रजातिका चरा पानीचरा रहेका थिए । पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चराहरू रारा आउने गरेका हुन्।

सुझावित समाचार