हुथी आक्रमणपछि बदलियो विश्वव्यापी समुद्री ढुवानी

युरोप र एसिया आउजाउ गर्ने पानीजहाजहरू छोटो बाटो छाडेर अफ्रिकालाई घुम्न थालेका छन्

बुधबार, १० माघ, २०८०
डिजिटल संस्करण

हिजोआज युरोप–एसिया आउजाने गर्ने सयौँ मालवाहक जहाज स्वेज नहरलाई पन्छाउनलाई हजारौँ माइलको अतिरिक्त दूरी पार गर्ने गर्छन् । उनीहरू पहिलेको छोटो बाटो छाडेर अफ्रिकालाई घुमेर आउजान गर्न थालेका छन् । यसमा अतिरिक्त ६५०० किमि दूरी खर्च हुने गर्छ । यस अतिरिक्त दूरी पार गर्दा जहाजले उपभोग गर्ने इन्धन मात्र बढ्ने होइन कि एउटा दिशामा करिब १० दिनको थप समय लाग्ने गर्छ । यसको असर केही देशमा आमउपभोग्य सामानको मूल्य देखिन थालिसकेको छ मूल्यवृद्धिको रूपमा ।

आखिर ढुवानी कम्पनीहरू अतिरिक्त खर्च र समय लगाएर तिनका जहाज स्वेज नहरको छोटो बाटो पन्छाएर किन यति लामो रुट हिँडाइरहेका छन् ? युरोपबाट एसिया आउँदा स्वेज नहर पार गरेपछि पुगिने लालसागरमा मालवाहक जहाजमाथि केही महिनादेखि हुथी समूहको आक्रमण हुन थालेपछि रुट परिवर्तन हुन थालेको हो । पश्चिमी मुलुकले इरानको समर्थन प्राप्त भन्ने गरेको हुथी समूहले गाजामा जारी इजरायली आक्रमण रोक्न दबाब दिन भन्दै आक्रमण गरेको बताइरहेको छ । 

जनवरीको पहिलो दुई साताको अवधिमा लालसागर हुँदै करिब एक सय ५० वटा जहाजले स्वेज नहर पार गरे । जब कि गत वर्ष यही अवधिमा चार सयवटा भन्दा बढी जहाजले सो नहर पार गरेको सामुद्रिक तथ्यांक संकलक ‘म्यारिन ट्राफिक’को रेकर्डले देखाउँछ । अमेरिकाले हुथीहरूको आक्रमण रोक्न भन्दै उसका सहयात्रीसँग मिलेर यमनस्थित हुथी शिविरमा आक्रमण सुरु गरेको छ । तर, यसले हुथीको ड्रोन तथा मिसाइल आक्रमणलाई रोक्न सकेको छैन । ढुवानी कम्पनीले एसियाबाट युरोपसम्म कन्टेनर जहाज लैजान विगतको तुलनामा तेब्बरसम्म खर्च उठाइरहेका छन् । यस वृद्धिमा मुख्यतः जहाजलाई अफ्रिका महादेश घुमाउँदा बढ्ने खर्चको योगदान छ । 

अझै लालसागर प्रयोग गर्ने जहाजधनीले (जसमा धेरै कन्टेनर मालिक छन्) बिमाको किस्ता बढी तिरिरहेका छन् । भलै कन्टेनर मूल्य अझै कोरोना भाइरस महामारीको समयको जति बढिसकेको छैन, तर इकियाजस्ता रिटेलर कम्पनीले स्वेज नहर पन्छाउँदा तिनको बिक्री प्रभावित हुने चेतावनी दिइसकेका छन् । युरोपका केही कार कम्पनीले एसियाबाट आयात हुने कारका पार्टपुर्जाको आपूर्ति ढिलो भएपछि तिनको उत्पादन नै अवरुद्ध गर्नुपर्यो । यही स्थिति लम्बियो भने मुद्रास्फीति थप बढ्न सक्छ । जेपी मोर्गन चेजले गत बिहीबार जारी गरेको एक प्रक्षेपणअनुसार जहाज ढुवानी अवरोध जारी रह्यो भने यो वर्षको विश्वव्यापी उपभोक्ता मूल्य अतिरिक्त ०.७ प्रतिशतले बढ्न सक्छ । 

गत दुई वर्षको अन्तरमा लाल सागर र स्वेज नहरको महत्व एसिया र युरोप आवतजावत गर्ने जहाजहरूका लागि मात्र होइन, तेल तथा तरल प्राकृतिक ग्यासका कार्गोका लागि उत्तिकै बढेको छ । सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथिको रुसी आक्रमणपछि युरोपेली मुलुकले रुसी इन्धन किन्न रोक्न थाले । त्यसपछि रुसले स्वेज नहरमार्फत पहिले युरोपलाई बेच्ने तेल भारत र अन्य एसियाली देशमा पठाउन थाल्यो । त्यस्तै युरोपले उसको इन्धन आवश्यकता मध्यपूर्वबाट पूरा गरिरहेको छ । र, मध्यपूर्वबाट युरोप जाने इन्धन ट्यांकर पनि स्वेज नहरबाटै अघि बढछन् । विश्वमा ट्यांकरबाट ढुवानी हुने तेलमध्ये १२ प्रतिशत र तरल प्राकृतिक ग्यासको लगभग त्यति नै हिस्सा लालसागरको बाटो अघि  बढ्ने अमेरिकी सरकारको इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनको तथ्यांकले देखाउँछ । 

अमेरिकी नौसेनाले कैयौँ ड्रोन र मिसाइल तिनको निसाना पुग्नुअघि नष्ट गर्दै वाहनमा पुग्न सक्ने गम्भीर क्षति टरेको छ । सस्ता ड्रोन र न्यूनस्तरको मिसाइल पहिचान गर्न अमेरिका र उसका मित्रशक्तिले हाइटेक लडाकु विमान र अन्य उच्चस्तरको सैन्य सामग्री प्रयोगमा ल्याइरहेको छ, जुन उसका लागि निकै महँगो परिरहेको छ । अहिलेको विश्वको प्रमुख सामुद्रिक शक्ति चीनले भने यस घटनामा फरक अडान लिएको छ । इजरायल–प्यालेस्टिनी संघर्षमा प्यालेस्टाइन पक्षमा उभिएको बेइजिङले अहिलेसम्म ढुवानी जहाजमाथि भएका आक्रमणका लागि हुथीहरूको आलोचनासमेत नगरेको अवस्थामा सो समूहमाथिको सैन्य अभियानमा भाग लिने कुरा टाढाको देखिन्छ । तथापि, हुथीको जहाज आक्रमणबाट चीन पनि अछुतो भने छैन । हुथी आक्रमणपछि चीनको निर्यात वृद्धि सुस्ताएको छ । यसले उसको धर्मराइरहेको अर्थतन्त्रमा थप असर गर्न सक्छ । 
– द न्युयोर्क टाइम्सबाट

सुझावित समाचार