काठमाडौंमा यस वर्षकै कम तापक्रम रेकर्ड

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले सोमबार काठमाडौंमा यस वर्षकै कम तापक्रम (३.२) रेकर्ड गरिएको बताए।

यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम ३.५ डिग्री रेकर्ड गरिएको थियो। उक्त रेकर्ड ब्रेक गर्दै आज ०.२ डिग्रीले झरेको हो। आज काठमाडौं उपत्यकामा पारदर्शिता पनि घटेको छ। उनका अनुसार आज बढी चिसो अनुभव भएको छ।

बिहानका समयमा चाहिँ हुस्सुजस्तो देखिएको छ। उनले परदर्शिता तीन हजार मिटर रहेको बताए। यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा आज भने पारदर्शिता पनि घटेको हो। त्यसका कारण काठमाडौंमा आज बिहानदेखि कतिवेला घाम लाग्ने र कतिवेला नलाग्ने भइरहेको छ। चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ। लागेको घाम पनि न्यानो खालको छैन।

तराईमा बाक्लो हुस्सु र कुहिरो
महाशाखाले चिसो बढिरहेको बताएको छ। तराईका भूभागमा हुस्सु र कुहिरोले कुनै दिन खुल्ने कुनै दिन बेलुकासम्म नै हुस्सु कुहिरो लागिरहने गरेको पनि उनले बताए। त्यसका कारण बढी चिसो महसुस हुने गरेको छ।

आइतबार रेकर्ड गरिएको तथ्यांकअनुसार जुम्लामा माइनस ५.६ डिग्री, जोमसोम माइनस पाँच डिग्री र दोलखाको जिरीमा एक डिग्री तापक्रम रेकर्ड गरिएको छ। आगामी २४ घन्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।

तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

See More On

सुझावित समाचार