दीनदुःखीको सेवा

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

त्यो दिन आइतबार परेको थियो । बिहानबिहानै एक इसाई सज्जन दीनबन्धु एन्ड्र्युजसँग भेट गर्नका लागि उनका निवासमा आइपुगे । उनीहरूबीच विभिन्न विषयमा फैलिएको कुराकाननी चल्दै गर्दा बिहानको ९ बज्यो ।दीनबन्धुले घडी हेरे र ती सज्जनसित माफी माग्दै बोले, ‘मलाई माफ गर्नुस् मित्र, अब मैले गिर्जाघर जानुपर्ने समय भयो ।’

उनको कुरा सुनेपछि ती सज्जनले खुसी हुँदै भने, ‘गिर्जाघर ? गिर्जाघर त मैले पनि जानु छ । हामी साथै जाँदा राम्रो हुनेछ ।’ ‘तपाईंको भनाइ एकदम ठीक हो, तर म तपाईंको गिर्जाघर जान सक्दिनँ,’ दीनबन्धुले भने । ‘अनि तपाईं पूजा कहाँ गर्नुहुन्छ त ?’ सज्जनले आश्चर्य मान्दै सोधे । उनको जिज्ञासा सुनेपछि दीनबन्धु मुस्कुराए र ती सज्जनलाई आफूसँगै आउन अनुरोध गर्दै उनी निवासबाट निस्किए । उनी ती सज्जनलाई लिएर सहरको सफासुग्घर गल्ली छोड्दै हरिजन बस्तीको एउटा झुपडीमा पुगे । त्यहाँ एकजना वृद्ध पुरुष खाटमा सुतिरहेको एक १०–१२ वर्षको बच्चालाई पंखा हम्किरहेका थिए । 

दीनबन्धुले ती वृद्धको हातबाट पंखा लिए र भने, ‘बाबा, म आइपुगेँ, अब तपाईं जानुस् ।’ ती वृद्ध गइसकेपछि उनले ती सज्जनलाई भने, ‘यो बालक अनाथ हो र यो क्षयरोगको बिरामी हो । छिमेकका यो वृद्धले यसको रेखदेख गर्ने गरेका छन् । तर, यी वृद्ध १० बजेदेखि २ बजेसम्म काममा जानुपर्ने हुन्छ । यसबीचमा म यसको सेवा गर्छु । चार घन्टापछि ती वृद्ध फेरि फर्केर आउँछन् र म फर्किन्छु । त्यसैले मित्र, यही नै मेरो पूजा हो र यही झुपडी नै मेरो गिर्जाघर हो ।’ उनको त्यस्तो भनाइ सुन्दा र कर्म देख्दा ती सज्जन उनीप्रति श्रद्धाले झुके ।

सुझावित समाचार