जलहरी प्रकरण : श्रेष्ठलाई ५० हजार धरौटीमा छाड्न आदेश

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण
जलहरी प्रकरण : श्रेष्ठलाई ५० हजार धरौटीमा छाड्न आदेश

फाइल फाेटाे ।

पशुपतिनाथमा सुनको जलहरी राख्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियुक्त बनाएका अरुणकुमार श्रेष्ठलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिइएको छ। 

आइतबार अदालतमा उपस्थित भएका श्रेष्ठको निवेदन अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो। 

विशेषका अनुसार प्रतिवादी श्रेष्ठलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। यस प्रकरणमा तीनजना प्रतिवादी रहेकोमा कोषमा स्टोरकिपरका रूपमा कार्यरत श्रेष्ठ अघि नै अन्य दुईजना उपस्थित भइसकेका छन्। 

२७ पुसमा डा. मिलनकुमार थापा अदालत उपस्थित भएका थिए। यसैगरी, ३ माघमा प्रदीप ढकाल पनि उपस्थित हुने निवेदनसहित अदालत पुगेकोमा दुवैलाई धरौटीमा रिहा गरिएको थियो। 

उनीहरू दुवैलाई विशेषले तीन–तीन लाख रुपैयाँ धरौटी माग गरेको थियो। थापा कोषका सदस्य सचिव तथा पूर्वकोषाध्यक्ष हुन् भने ढकाल पनि तत्कालीन सदस्य सचिव हुन्। 

अन्तिम प्रतिवादी श्रेष्ठसमेत उपस्थित भएपछि यो मुद्दा अब पूर्ण सुनुवाइका निम्ति पेस हुने भएको छ। मूल मुद्दामा सुनुवाइका लागि अंग पुगेकाले यो मुद्दा अब अन्तिम सुनुवाइमा जानेछ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १४ असोजमा विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। पशुपतिको जलहरी निर्माण र प्रतिस्थापनमा अनियमितता भएको दाबीसहित तीनैजनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको थियो। जलहरीमा एक हजार ४ सय ९१ ग्राम ७१८ मिलिग्राम सुन भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ।

सुझावित समाचार