पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)का अध्यक्ष शहवाज सरिफले आसन्न निर्वाचन स्थगित गर्नु देशकै लागि हानिकारक हुने बताएका छन्।
पाकिस्तानी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा पाकिस्तानका पूर्वप्रधानमन्त्रीसमेत रहेका सरिफले अहिले चुनावमा ढिलाइ गर्नु पाकिस्तान र लोकतन्त्रका लागि हानिकारक हुने बताएका हुन्।
उनले पिएमएल–एनले आफ्नो चुनावी अभियान सुरु गरिसकेको बताउँदै आफ्नो दल चुनाव सार्ने कुनै पनि बहानालाई अस्वीकार गर्ने प्रस्ट पारे। उनले १३ दलीय गठबन्धनको प्रशासनले १६ महिनाको कार्यकालमा देशलाई आर्थिक अभावबाट जोगाएको दाबी गरे।
शहवाजले भने, ‘यदि मे ९ को घटना नभएको भए पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)का संस्थापक तथा पूर्वप्रधानमन्त्री इमरान खान जेलमा बस्नुपर्ने थिएन।’
गत हप्ता पिएमएल–एनका अध्यक्ष सरिफले फेब्रुअरी ८ मा हुने ‘अति महत्वपूर्ण’ आमनिर्वाचनले पाकिस्तानको भाग्य निर्धारण गर्ने घोषणा गर्दै इतिहासको विश्लेषण गरेर ‘भविष्यको नक्सा’ बनाउन मानिसहरूलाई प्रोत्साहित गरेको बताएका थिए।
एआरवाई न्युजका अनुसार पिएमएल–एनले पार्टीका वरिष्ठ नेता नवाज सरिफ, मरियम नवाज र हम्जा शहवाजको नेतृत्वमा आफ्नो चुनावी अभियान सुरु गरिसकेको छ।
सरिफले पूर्वप्रधानन्यायाधीश साकिब निसारलाई ‘प्यादा’को संज्ञा दिँदै आफ्नो नेतृत्वको प्रशासन हटाउन उनको प्रयोग गरिएको दाबी गरे।