पछिल्लो समय काठमाडौं महानगरपालिकामा करदाताको संख्या बढेको छ । गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय २० करदाता रहेकामा चालू आवमा तीन लाख ४३ हजार तीन सय ४० पुगेको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।
उनका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार नौ सय १६ व्यवसाय करदाता र ५२ हजार चार सय ८६ सम्पत्ति करदाता रहेका छन्। अन्य शीर्षकमा पनि करदाता बढेका छन्। यस वर्ष करदाताको संख्या तीन लाख ४३ हजार तीन सय ४० पुगेको छ।
‘गत आवको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालू आवका लागि करदाताको संख्या मान्ने गरिएको छ,’ काफ्लेले भने। उल्लेखित करदातामध्ये अहिलेसम्म एक लाख ९१ हजार आठ सय ८६ कर तिर्नेको संख्या रहेको भन्दै एक लाख ३२ हजार दुई सय ३४ कर नतिर्ने रहेका उनले जानकारी दिए।
करदाता बढेपछि कामपामा उलेख्य रूपमा कर संकलन भएको छ। चालू आवको अर्धवार्षिक अवधिमा करिब रु. पाँच अर्ब राजस्व संकलन भएको काफ्लेले जानकारी दिए।
कामपाको प्रमुख बालेन्द्र साहले नेपालको संविधान २०७२ को अनुसूची ८ को क्रमससंख्या ४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३ अनुसूची ३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ को व्यवस्थाबमोजिम बहाल कर संकलन गर्ने पालिकाको मात्र अधिकार रहेको उल्लेख गर्दै यसअघि संघ सरकारबाट संकलन हुँदै आएको यस शीर्षकको कर स्थानीय सरकारबाट उठाउने बताउँदै आएका छन्।
कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ । निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएकोबारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्दछ । लिखित सम्झौताको एक प्रति सम्बन्धित वडा कार्यालय, एक प्रति घरधनी र अर्को एक प्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।
सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य र अभिवृद्धिसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । निर्देशिका जारी भएसँगै करदाता बढेको कामपाले जनाएको छ ।