घले गाउँमा १० हजार पर्यटक भित्रिए

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण

लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ मा पर्ने घले गाउँमा एक वर्षमा नौ हजार ६ सय ५७ जना पर्यटक भित्रिएका छन् । स्मार्ट भिलेज र सुखी गाउँका रूपमा परिचित घले गाउँ आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको छ । कोरोनापछि अहिले घले गाउँमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।

यो समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको छ । पर्यटकीय गाउँबाट सुरु भएको घले गाउँको उपमा अहिले स्मार्ट भिलेज र सुखी गाउँका रूपमा परिचित छ । दुई दशकभन्दा बढी आन्तरिक पर्यटन विकासले घले गाउँलाई दक्षिण एसियामै नमुना ग्रामीण पर्यटकीय गाउँका रूपमा प्रख्यात बनायो । स्मार्ट भिलेज घले गाउँका घर एकैनासले रातो रङका जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घले गाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए । 

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), गण्डकी प्रदेशलगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घलेगाउँ दुईपल्ट दक्षिण एसियाकै नमुना गाउँ घोषित हुन सफल भइसकेको छ । ०५६ देखि स्थानीयले पर्यटन प्रवद्र्धनका कार्यक्रमको सुरुवात गरेका थिए । ०५७ देखि १२ घरबाट घले गाउँमा होमस्टे सञ्चालन गरिएको थियो । घले गाउँका एक सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ । न्यानो आतिथ्यताका माध्यमबाट घले गाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन, मौलिक उत्पादन तथा सेवाका साथ होमस्टेले पर्यटकलाई आकर्षित गरेको छ । गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सीधै होमस्टेका लागि पुग्ने गरेका छन् । ०५७ सालबाट होमस्टे सञ्चालनमा आएको घले गाउँमा ४२ घरले नियमित सेवा दिइरहेका छन् । 

घले गाउँमा दैनिक तीन सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घले गाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । घले गाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिकस्तर पनि उकासिएकोे छ ।

सुझावित समाचार