गुल्मी वितरक संघमा नयाँ नेतृत्व

शनिबार, ६ माघ, २०८०
डिजिटल संस्करण

गुल्मी वितरक संघ गुल्मीको पाँचौँ साधारणसभा तथा दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनबाट अध्यक्षमा विष्णुप्रसाद अधिकारी, उपाध्यक्षमा युवराज पाण्डेय, महासचिवमा सूर्यप्रसाद घिमिरे, सचिवमा प्रेमनारायण घिमिरे, कोषाध्यक्षमा केशव अधिकारी र सहकोषाध्यक्षमा कमलप्रसाद पाण्डेय रहेका छन्।

सदस्यहरूमा चन्द्रप्रसाद श्रेष्ठ, बादल श्रेष्ठ, रामचन्द्र सुवेदी, काशीराम पाण्डेय, महेन्द्र ज्ञवाली, टंकप्रसाद अर्याल, सीता अर्याल र रामचन्द्र सुवेदी चयन भएकाे निर्वाचन अधिकृत विजय पाण्डेयले जानकारी दिए।

संघको पाँचौँ साधारणसभा तथा दोस्रो अधिवेशनको प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माले उद्घाटन गरेका थिए।

व्यवसायीका गुनासैगुनासा
कार्यक्रममा वितरकहरू आफ्ना गुनासा राखेका थिए। संघका सदस्य काशीराम पाण्डेयले कर तिरेर जनताको घरसम्म पुग्ने वितरकलाई राज्यले उपेक्षा गरेको बताए। उनले कर तिर्ने, रोजगार सिर्जना गर्ने र घरसम्म सेवा दिने वितरकलाई राज्यले मनलाग्दी दोहोरो कर लादेको आरोप लगाए।

यसैगरी, चेम्बर अफ कमर्स गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले आर्थिक संकटको चपेटामा व्यवसाय र व्यवसायी परिरहेको उल्लेख गर्दै सरकारले ऊर्जाको साटो दु:ख दिइरहेको बताए। गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पौडेलले सरकारपिच्छेका नीति, संकटग्रस्त आर्थिक अवस्था, कम्पनीको व्यवहार र व्यवसायी तथा सेवाग्राहीको चेपुवामा वितरक परेको बताए।

पालिकाहरूले मनलाग्दी कर लगाएको भन्दै उनले यस विषयमा प्रशासनले सहजीकरण गर्नुपर्ने धारणा राखे।

सुझावित समाचार