युगान्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तर्क्रिया

आप्रवासनका समस्या समाधान गर्न सरकार प्रयासरत रहेको भनाइ

शुक्रबार, ५ माघ, २०८०
डिजिटल संस्करण

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९औँ सम्मेलनमा सहभागी हुन युगान्डाको कम्पाला आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहाँ रहेका नेपालीसँग भेट गरेका छन् ।

भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आप्रवासन समस्या समाधानका निम्ति सरकारले काम गरिरहेको बताए । ‘यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो, ती महत्वपूर्ण छन् । हिजो मात्रै सरकारले भिजिट भिसाबारे केही महत्वपूर्ण निर्णय गरेको छ,’ उनले भने, ‘केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ ।’

उनले विदेशमा रहेका नेपालीको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने बताए । उनले युगान्डामा आफ्नो पहिलो भ्रमण भएको भन्दै विदेशमा रहेका नेपालीहरूका दुःखकष्ट बुझ्ने अवसर पाएको बताए । 

परराष्ट्रमन्त्री एनपी साउदले युगान्डामा रहेका नेपालीले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउँदै नेपालीले गर्ने हरेक क्रियाकलापसँग देशको बिम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपिल गरे ।

गैरआवासीय नेपाली संघ युगान्डाकी अध्यक्ष रमा अर्यालले प्रधानमन्त्रीलगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसी लागेको र अभिभावक भेटेजस्तो महसुस भएको बताइन् ।

कार्यक्रममा गैरआवासीय संघ युगान्डाका संरक्षक रमेश कँडेलले युगान्डामा तीन सय ५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीले युगान्डाको विकास निर्माण र व्यापार–व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउँदै युगान्डामा रहेका नेपालीको अवस्थाबारे जानकारी गराएका थिए ।

सुझावित समाचार