एउटै गोत्रको गठबन्धन भत्किँदैन, देश जोगाउन आन्दोलन चाहिन्छ : ओली
प्रमुख विपक्षी दल एमालेले सरकारविरुद्ध आन्दोलनको ‘वार्मअप’ सुरु गरेको सन्देश दिएको छ । बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष एमाले केपी ओलीले जनताको बलमा निर्णायक आन्दोलन गरेर मिसन ८४ अगावै देशलाई निकास दिने गरी मध्यावधि निर्वाचनमा लैजानुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘देश अप्ठ्यारो स्थितिमा छ, सबैतिरबाट देश जोगाउनुपर्नेछ, यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ । उस्तै परे हामीले गठबन्धन भत्काउनुपर्छ, तर लोभीपापीहरू नभत्किन सक्छन्,’ उनले भने, ‘यिनीहरू सबैको घाँटी, शरीर एकैठाउँ जोडिएको छ । यी एकै भ्रष्टाचारी वंशका, कमिसनतन्त्रीय वंशका हुन्, निकम्मा गोत्रका, देशद्रोही जातका हुन् । त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता छ ।’
ओलीले केही दिनकै तयारीमा निर्णायक लडाइँका लागि पार्टीले आन्दोलन आह्वान गर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै तयारी अवस्थामा रहन पनि निर्देशन दिए । ‘आन्दोलनका निम्ति पार्टीले जतिवेला सिठी बजाउँछ, त्यतिवेलै मैदानमा दौडिएर पुग्ने गरी तयारी गर्नुपर्छ । छोटो तीन दिनको तयारीमा राष्ट्रिय आन्दोलनको तयारीमा उत्रिनुपर्ने हुन सक्छ । यो मानसिकताका साथ हामी जानुपर्छ,’ उनले भने, ‘उनीहरूले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्ने स्थिति छ । अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ, उनीहरू एक्लै हामीसँग कोही लड्न सक्दैन भनेर आतंकित छन् ।’
ओलीले आन्दोलनको आवश्यकता र औचित्यमाथि पनि प्रकाश पारे । ‘यो गठबन्धन देशका लागि अत्यन्तै हानिकारक छ, यसले देशलाई बर्बाद बनाइसक्यो, राष्ट्रियता कमजोर बनाइसक्यो, देशका स्रोतहरू बेचिसक्यो । हाम्रो स्वाधीनता, स्वाभिमानलाई धुजाधुजा बनाइरहेको छ । त्यसकारण समय घर्किनुअगावै हामीले निर्णायक कदम चाल्नुपर्ने हुन सक्छ र यसका लागि तयार रहनुपर्ने आवश्यकता छ,’ उनले भने ।
अहिलेको सरकार बुख्याचाजस्तो निकम्मा भएको कडा टिप्पणीसमेत ओलीले गरे । ‘हामीले मिसन ८४ मा हरेक ठाउँमा ५१ प्रतिशत शक्ति बनाउने भनेका छौँ । हाम्रा विरोधीहरू एक्लै लड्छौँ भन्ने आँट नै गर्दैनन्, हामी लड्यौँ, तर उनीहरूले स–साना अंक जोडेर सरकार बनाएका छन्,’ उनले भने, ‘यो सरकार तरकारी बारीको बुख्याचाजस्तो छ । केही गर्ने होइन त्यसले । अहिले त त्यसका टाउकामा सुगा पनि बस्छ, काग पनि । सबैले चिनिसके यो बुख्याचाले हो केही गर्न सक्दैन भन्ने ।’
२ माघमा पार्टी कार्यालयमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रममा पनि ओलीले मुलुकलाई बर्बाद हुनबाट जोगाउन आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको भन्दै तयारीमा रहन निर्देशन दिएका थिए । त्यसअघि २४ पुसमा जनवर्गीय संगठनका प्रमुखहरूलाई पार्टी कार्यालयमा बोलाएर महासचिव शंकर पोखरेलले सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गर्न थालेको र राष्ट्रियता र स्वाधीनतामाथि समेत गम्भीर आँच पुग्ने काम गरेको भन्दै आन्दोलनको वार्मअप सुरु गर्न निर्देशन दिएका थिए ।