नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्टले पहिलोपटक भारतीय आई–लिग खेल्ने भएका छन् । आई–लिग क्लब सिलोङ लाजोङ एफसीले बिहीबार नेपाली फुटबलर एरिकलाई अनुबन्ध गरेको हो । ‘नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक क्लबसँग अनुबन्ध भएका छन्,’ क्लबले जारी गरेको विज्ञिप्तिमा भनेको छ, ‘बाँकी सिजनका लागि उनले खल्नेछन् ।’ आई–लिगमा ११ खेल सकिएको छ ।
१९ अंकसहित सिलोङ पाँचौँ स्थानमा छ । सिलोङले पाँच खेल जित्दा चारमा बराबरी नतिजा निकालेको छ भने दुई खेल हारेको छ । २७ अंकसहित मोहम्मडन शीर्ष स्थानमा छ । एरिक अहिले भारतमै छन् । सम्झौता मात्र गर्न बाँकी रहेको अवस्थामा उनी प्रशिक्षणका लागि भारत पुगेका हुन् ।
पहिलो दिनको अभ्यासपछि सिलोङले एरिकलाई सार्वजनिक गरेको हो । उनी तीन दिनअघि नै भारत पुगेका थिए । राष्ट्रिय टोलीका लागि २३ खेल खेलेका एरिकले घरेलु फुटबलमा चर्च ब्वाइज क्लबलाई सहिद स्मारक ए डिभिजन लिगमा डेब्यु उपाधि जिताएका छन् । नेपाल सुपर लिग (एनएसएल)मा एरिकले बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए ।
यू–१९ महिला टोली घोषणा
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला यू–१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गरेको छ । प्रशिक्षक बालगोपाल साहुखलले २३ सदस्यीय टोली घोषणा गरेका हुन् भने कप्तान चयन गरिएको छैन । उनले खेल अझै बाँकी रहेको र कप्तान केही सातापछि मात्रै घोषणा गर्ने जनाए । ‘१२–१४ दिनको अभ्यासपछि खेलाडी छनोट गरेका हौँ, कप्तान प्रतियोगिताको केही अघि मात्रै घोषणा गर्छौँ,’ प्रशिक्षक साहुखलले नयाँ पत्रिकासँग भने, ‘टिमको सम्पूर्ण जानकारी पछि
नै दिन्छौँ ।’
गोलरक्षकमा सुजता तामाङ, करुण बुढाथोकी र लीला जोशी छन् । रक्षकमा दिव्या यसमाली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिताकुमारी नाथ, गंगा रोकाया, सिम्रन राई, माया मास्के रहँदा मिडफिल्डरमा ब्रिसना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ छन् ।
प्रशिक्षक साहुखलले नेपालको अग्रपंक्तिमा सेनु परियार, सुक्रिया मियाँ, वर्षा ओली, लीला चन्द, पूर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तानलाई छनोट गरेका छन् । टोलीमा रहेका अधिकांश खेलाडीले यू–१९ र यू–१६ को अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । बंगलादेशको ढाकमा महिला यू–१९ साफ च्याम्पियनसिप २ देखि ८ फेब्रुअरीसम्म हुँदै छ ।