एकतिहाइ युवा प्रतिनिधित्व गराउन एमालेको निर्देशन

बिहिबार, ४ माघ, २०८०
डिजिटल संस्करण

एमालेले अधिवेशनबाट बन्ने कमिटीमा एकतिहाइ युवाको प्रतिनिधित्व गराउने केन्द्रको निर्णयलाई सिर्जनात्मक रूपले कार्यान्वयन गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ । प्रदेश अधिवेशन सकिएपछि जिल्लाले कार्यतालिका सार्वजनिक गरेर अधिवेशन सुरु गरेलगत्तै महासचिव शंकर पोखरेलले अलग्गै परिपत्र जारी गर्दै त्यस्तो निर्देशन दिएका हुन् । 

एमालेका सबैजसो जिल्ला कमिटीले माघदेखि आगामी जेठभित्र अधिवेशन गर्ने गरी तयारी सुरु गरेका छन् । १८ पुसमा दार्चुलाले अधिवेशन सम्पन्न गरेलगत्तै सबैजसो जिल्लाले अधिवेशन कार्यतालिका सार्वजनिक गरेर तयारी अगाडि बढाएका छन् । जिल्ला अधिवेशनबारे प्रदेश पदाधिकारीको राष्ट्रिय भेलामार्फत सुझाव लिएर महासचिव पोखरेलले परिपत्र जारी गरेका हुन् ।

‘एकतिहाइ युवा प्रतिनिधित्व सुनिश्चित गर्ने भन्ने निर्णयलाई सिर्जनात्मक रूपले कार्यान्वयन गर्ने । उदाहरणका लागि ४० वर्षमुनिका युवाको सहभागिता प्रदेश कमिटीमा न्यूनतम १० प्रतिशत, जिल्लामा न्यूनतम १५ प्रतिशत, पालिकामा न्यूनतम २० प्रतिशत र वडा तथा टोलमा कम्तीमा एकतिहाइ पु¥याउने,’ महासचिव पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

त्यस्तै, जिल्ला अधिवेशनमा नेतृत्वका लागि अलग–अलग प्यानल बनाउन पनि केन्द्रीय कार्यालयले रोक लगाएको छ । पदाधिकारी र सदस्यहरूले व्यक्तिगत रूपमा उम्मेदवारी दिएर व्यक्तिगत रूपमै प्रचारप्रसार गर्न परिपत्रमा निर्देशन गरिएको छ । स्थानीय तहको प्रमुख र उपप्रमुख, प्रतिनिधिसभा र राष्ट्रिय सभामा निर्वाचित सांसदहरूले जिल्ला नेतृत्वको कार्यकारी पदमा उम्मेदवारी दिन पाउनेछैनन् । 

See More On

सुझावित समाचार