त्रिशूलीमा खसेको जिप भेटिएको छ । भारतीय नम्बर प्लेटको जिप त्रिशूली नदीमा खसेको थियो । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलनजिकबाट उक्त जिप त्रिशूलीमा खसेको हो ।
आज बिहान पौने पाँच बजेको समयमा जिप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जिप सडकबाट करिब ८५ मिटर तल खसेको थियो ।
त्रिशूली नदीमा जिप खसेको सूचना पाएपछि विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली परिचालन गरिएको थियो । स्थानीयले जिप नदीमा खसेको खबर गरेपछि उक्त टोली घटनास्थलमा परिचालन भएको थियो ।
केहीबेरअघि गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उनकाे भनाइ छ।