पाँचपटकको उपविजेता एन्डी मुर्रे वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलिया ओपनको पहिलो चरणबाटै बाहिरिएका छन् । ३६ वर्षीय मुर्रे पछिल्लो १३ वर्षमा दोस्रोपटक पहिलो चरण पार गर्न नसकेका हुन् । दोस्रो चरणमा पुग्न नसक्दा निराश देखिएका मुर्रेले सन् २०२५ मा मेलबर्न पार्कमा उपस्थित हुन नसक्ने जनाएका छन् ।
उनले घुमाउरो रूपमा यसपटकको सहभागिता नै अन्तिम भएको बताए । ‘यहाँ मैले राम्रो खेल्न सकिनँ, जुन रूपमा प्रतिस्पर्धा गरे, यो दोस्रो चरणसम्म पुग्नलायक थिएन,’ उनले भने । उनी पहिलो चरणमा टोमास मार्टिनसँग ६–४, ६–२ र ६–२ को सहज सेटमा पराजित भएका हुन् ।
गत वर्ष उनले सन्न्यास घोषणाको योजना रोकेका थिए । सन् २०२४ को सिजनमा राम्रो टेनिस खेली करिअरबाट विश्राम लिने उनको योजना थियो । तर, अस्ट्रेलियन ओपनको खराब नतिजासँगै उनको मन परिवर्तन भएको छ । ‘यो वर्ष केही राम्रो नतिजाका साथ बिदा हुने सुरमा थिएँ,’ उनले भने, ‘तर, मेरो योजना र सपना साकार नहुने देखिएको छ ।’ गत वर्षको युएस ओपनपछि उनले १२ खेल खेले ।