प्रेरक प्रसंग : मिहिनेतमाथिको विश्वास

मंगलबार, २ माघ, २०८०
डिजिटल संस्करण

उहिल्यै हाम्रै मधेशको एउटा गाउँमा आँपको ठूलो बगैँचा थियो । बगैँचानजिकै घना जंगल थियो । जंगलमा बाँदरको एउटा ठूलै समूह बस्थ्यो । आँप खाने मौसममा तिनले हरेक वर्ष बसाइँ सरेजस्तै गरी आँपको बगैँचामै डेरा जमाउँथे । बगैँचाका मालिकले बाँदरबाट आँप जोगाउन पहरेदारहरू नियुक्त गरेका थिए । तिनीहरू हातहातमा गुलेली र मट्यांग्रा लिएर बगैँचाको गस्ती गरिरहन्थे । बाँदर देख्नासाथ उनीहरू निसाना साधिहाल्थे । आँप खाने धुनमा रहेका बाँदरले आँप कम, मट्यांग्राको चोट बढी भेट्थे । 

एक दिन बाँदरको सरदारले समूहको भेला बोलायो । सबै उपस्थित भइसकेपछि उसले भन्यो– साथीहरू, हामीले बगैँचामा पसेर आँप खान खोज्दा मानिसले हामीलाई मट्यांग्राले हानेर घाइते बनाइरहेका छन् । दिनभरि प्रयास गर्दा पनि हामीले पेटभरि आँप खान पाइरहेका छैनौँ । उल्टै हाम्रै छोराछोरी, भाइभतिजा र आफन्त घाइते हुँदै गएका छन् । यसरी कतिन्जेल अरूको आँपको भर परिरहने ? अब हामीले आफ्नै आँपको बगैँचा किन नबनाउने ? यो जंगलको छेउमा एउटा ठूलै चउर छ । त्यहाँ मानिसले खेती गरेका पनि छैनन् । अब हामी सबैले त्यहाँ एउटा–एउटा आँपको कोया रोपेर आफ्नै बगैँचा बनाउनुप¥यो । यसमा तपाईंहरूको राय के छ ? 

सबैले सरदारको भनाइलाई थपडी मारेर समर्थन जनाए । सबैले रातको समयमा आँपको बगैँचामा पसेर एउटा एउटा कोया अनिवार्य रूपमा संकलन गर्ने र भोलिपल्ट बिहानै चउरमा खोस्रेर कोया रोप्ने निधो गरे । नभन्दै उनीहरूले राति नै कोया संकलन गरे र भोलिपल्ट निर्धारित चउरमा भेला भई कोया रोपे । यस्तो अनौठो दृश्य आँप बगैँचाका मालिकले चासोपूर्वक हेरिरहेका थिए । साथै, उनलाई अनौठो पनि लागिरहेको थियो । 

दिउँसोतिर बाँदरलाई आफूले रोपेको कोयाबाट बिरुवा उम्रियो कि उम्रिएन भनेर हेर्ने रहर जाग्यो । सबै चउरमा भेला भएर आफूले बिहान रोपेको कोया धमाधम निकालेर हेर्दा बिरुवा नदेखेपछि निराश भई कोया त्यत्तिकै मिल्काएर उनीहरू जंगलतिर लागे । बगैँचाका मालिकले यो दृश्य पनि नियालिरहेका थिए । उनले आफ्ना कामदारसित भने– देख्यौ ? आफ्नो मिहिनेतको फलमाथि विश्वास गर्ने धैर्य भएन भने मान्छेको पनि हालत यिनै मूर्ख बाँदरहरूको जस्तै हुनेछ । 
 

सुझावित समाचार