साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ सञ्चालकमा ६ जना निर्वाचित भएका छन्। भक्तपुरको बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित भएका हुन्।
नयाँ सञ्चालकहरूमा खेमबहादुर पाठक, डा. बाबुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भीमप्रसाद पन्त निर्वाचित भएका हुन्। नयाँ सञ्चालक समितिको कार्यकाल चार वर्षको रहनेछ।
ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरू र समान प्रकृतिका संस्थाहरूमार्फत थोक कर्जा प्रदायक संस्थाका रूपमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था लि. गत असार २४ गते मर्ज भएका थिए।
७७ जिल्लामा सेवा पुगेको यस वित्तीय संस्थाको चुक्ता पुँजी तीन अर्ब ३३ करोड १६ लाख १८ हजार दुई सय चार रुपैयाँ पुगेको छ। पाँच सय ४६ वटा स्थानीय तहमा सञ्जाल विस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्थामार्फत १० लाख २९ हजार आठ सय ७५ परिवारमा यस वित्तीय संस्थाको सेवा पुगेको छ।