प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन्। सिंहदरबारमा आज मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरणको शुभारम्भ गर्दै उनले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने बताए ।
सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहाेर पानी प्रशोधन प्रणालीसमेत विकास गरिने जनाउँदै प्रधानमन्त्री प्रचण्डले अर्को चरणमा नयाँ वितरण सञ्जालमार्फत काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको थालिने बताए । उनले तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घन्टा उपभोक्ताको धारामा वितरण गरिने व्यवस्था मिलाउनसमेत निर्देशन दिए ।
दीर्घकालीन रूपमा समस्या समाधान नहुञ्जेलसम्मका लागि हरेक वर्ष मनसुनबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मनसुन अवधिभर सुरुङ सञ्चालन बन्द गर्नुपर्ने बाध्यता रहेका उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बाह्रैमहिना पानी आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकार क्रियाशील रहेको बताए । यस वर्षको बाढीले मेलम्ची हेडवर्क्समा गत वर्षको तुलनामा धेरै क्षति पुर्याएकाले पानी आपूर्तिमा केही विलम्ब हुन गएको उनको भनाइ छ ।
खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी विकास समितिको प्रयासमा यस वर्ष खानेपानी पथान्तरण कार्य सम्पन्न भई पुनः वितरण शुभारम्भ भएको जनाउँदै उनले आयोजनालाई दिगो रूपमा सञ्चालन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए । ‘दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिनेछ,’ उनले भने, ‘आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रैमहिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशनसमेत दिएको छु ।’
खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनालाई बाह्रैमहिना निरन्तर सञ्चालन गर्न तथा याङ्ग्री र लार्के खोलाको पानी ल्याएर राजधानीवासीको प्यास मेट्न आफू क्रियाशील रहेको बताए । उनले काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्था गर्न सिस्नेरी, महादेव खोला र ठोस्ने खोलाको पानी ल्याउनेबारे छलफल भइरहेको जानकारी दिए ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकावासीलाई सर्वसुलभ रूपमा २४ सै घन्टा खानेपानी उपलब्ध गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराए । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मेलम्ची आयोजनालाई दिगो बनाउन कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरे ।