नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत अधिकांश कम्पनीहरूले अघिल्लो आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लगानीकर्तालाई प्रतिफल दिन थालेका छन् । अधिकांशले बोनस सेयरभन्दा पनि नगद लाभांशमै जोड दिएका छन् ।
हालसम्म नेप्सेमा सूचीकृत वाणिज्य बैंक समूहअन्तर्गत १९ बैंकमध्ये हालसम्म १२ ले लाभांश प्रस्ताव गरेका छन् । तीमध्ये एनआइसी एसिया बैंंक, सानिमा बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकका सेयर नेप्सेमा सूचीकृत भइसकेका छन् । अघिल्लो वर्षको मुनाफाबाट सर्वाधिक लाभांश प्रस्ताव गर्नेमा एनआइसी एसिया बैंक रहेको छ । बैंकले २९ प्रतिशत बोनस सेयर र एक दशमलव ५२ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिएको हो । बैंकले आर्थिक वर्ष ०७७/७८ मा लाभांश दिएको थिएन । त्यस्तै, एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र १० दशमलव ५३ प्रतिशत नगद र माछापुच्छ्रेले १३ प्रतिशत बोनस र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश दिएको हो ।
त्यस्तै, विकास बैंक समूहअन्तर्गत नेप्सेमा सूचीकृत १६ बैंकमध्ये सातले लाभांश प्रस्ताव गरेका छन् । सर्वाधिक लाभांश प्रस्ताव गर्नेमा साइन रेसुंगा डेभलपमेन्ट बैंकको १० दशमलव ५ प्रतिशत बोनस र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश प्रस्ताव रहेको छ । त्यस्तै, गरिमा विकास बैंकले ९ दशमलव ५ प्रतिशत बोनस र शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
फाइनान्स समूहमा सूचीकृत १५ कम्पनीमध्ये अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्तालाई हालसम्म तीनवटा कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्नेमा श्री इन्भेस्टमेन्ट फाइनान्स, आइसिएफसी फाइनान्स र मन्जुश्री फाइनान्स रहेका छन् । यी सबै कम्पनीले लाभांश मात्र दिएका छन् । नगद लाभांश सबैभन्दा धेरै आइसिएफसी फाइनान्सले ६ दशमलव ५ प्रतिशत प्रस्ताव गरेको छ ।
माइक्रो फाइनान्स समूहका नेप्सेमा सूचीकृत ५५ संस्थामध्ये हालसम्म १२ वटाले मात्र लाभांश प्रस्ताव गरेका छन् । तीमध्ये मिर्मिरे लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त र एनआइसी एसिया लघुवित्तले लाभांश मात्र प्रस्ताव गरेका छन् । सबैभन्दा धेरै एनआइसी एसिया लघुवित्तले १५ प्रतिशत नगद लाभांश दिएको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्तले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साना किसान लघुवित्तले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
निर्जीवन बिमा समूहको नेप्सेमा सूचीकृत १२ कम्पनीमध्ये हालसम्म दुईवटा कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । हिमालयन एभरेस्ट इन्स्योरेन्सले ८ दशमलव ६३ प्रतिशत बोनस र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश र नेपाल इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
जीवन बिमा समूहअन्तर्गत नेप्से सूचीकृत १२ कम्पनीमध्ये दुईवटाले मात्र लाभांश प्रस्ताव गरेका छन् । जसमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८४ प्रतिशत नगद तथा सिटिजन लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस र शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।
पछिल्लो समय कम्पनीहरूले बोनस सेयरभन्दा नगद लाभांशमा जोड दिनुमा आर्थिक मन्दी प्रमुख कारण रहेको लगानीकर्ता राधा पोखरेलले बताइन् । बैंक तथा वित्तीय संस्था नाफामा जान नसक्दा लगानीकर्तालाई बोनसमा भन्दा नगद वितरण गर्नमै संस्थाहरू केन्द्रित भएको उनको भनाइ छ । उनले भनिन्, ‘कोभिडपछि बोनस सेयर दिन सक्ने कम्पनीहरू पनि घाटामा गएका छन्, जसले बोनस सेयर दिन सक्ने अवस्था छैन, त्यसैले यो ट्रेन्ड अझ बढ्दो छ ।’
नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले यसपटक बैंक तथा वित्तीय संस्थाले पूर्ववत् कारोबार रकममा भूतप्रभावी कानुनमार्फत सरकारले कर तिराएको हुनाले बोनस सेयर दिन नसक्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘प्रोभिजनमा राखेको रकम सरकारलाई कर तिर्न बाध्य भए, जसमा ठूलो रकम गुमाउन पुगे भने अर्कोतर्फ चुक्ता पुँजी धेरै भएका वित्तीय संस्थाले बोनस दिन रुचाएनन्, नगद मात्र दिए ।’ उनका अनुसार बोनस सेयरको आसमा सेयर लगानीकर्ताले ठूलो पुँजी खर्च गरेका छन्, रित्तो हात पर्दा लगानीकर्ता निराश बनेका छन् ।
