अवसर गुमाइरहेका छन् मलेसियाली प्रधानमन्त्री इब्राहिम

आइतबार, २९ पुष, २०८०
डिजिटल संस्करण

दक्षिण–पूर्वी एसियाली राजनीतिमा सबैभन्दा रहस्यमय व्यक्तित्व अनवर इब्राहिमले अहिले मलेसियाको प्रधानमन्त्रीको रूपमा एक वर्षभन्दा बढी समयदेखि सेवा गरिरहेका छन् । त्यो देशको कमजोर राजनीतिमा सत्तामा बस्नु एउटा उपलब्धि हो । हालैका वर्षमा मलेसियाका राजनीतिक दल विभाजित छन् र प्रधानमन्त्रीहरू आउने र जाने क्रम जारी छ । ७६ वर्षीय अनवरले आफ्नो सत्तारुढ गठबन्धनलाई सुदृढ पार्ने काममा आफ्नो ध्यान केन्द्रित गरेका छन् । तैपनि सत्तामा उनको असाधारण बाटोमा उब्जिएका दुई प्रश्नहरू (जसमा राजनीतिक रूपमा प्रेरित अभियोगमा वर्षौं जेल समावेश छ) अहिले झन् महत्वपूर्ण छन् । उनी केका लागि खडा हुन्छन् ? अनि शक्तिमा पुगेपछि उनले के गर्छन् ?

यदि अनवर प्रखर बोल्थे र उनको बोलीमा एकरूप हुन्थ्यो भने जवाफ स्पष्ट हुन्थ्यो । सुधार उनको करिअरको अधिकांश समय उनको प्रतीक चिह्न बनेको छ । उनले मलेसियाका संस्थाहरूलाई अझ प्रजातान्त्रिक र राजनीतिक हस्तक्षेपको जोखिम घटाउन आधुनिकीकरण गर्नुपर्ने तर्क गरे । उनले पैसा र राजनीतिको नराम्रो सम्बन्ध तोड्ने वाचा गरे । उनले निष्पक्ष तर अधिक उत्पादनशील अर्थतन्त्रको वाचा गरे ।

अनवरले नेतृत्व गरेको प्रमुख राजनीतिक समूह पाकटन हरापान (पिएच) वा आशाको गठबन्धन पनि ती उद्देश्यमा खासै प्रतिबद्ध छैन । सहरी जातीय–चिनियाँ र भारतीय अल्पसंख्यक साथै उदार मलायहरूको समर्थन प्राप्त यो गठबन्धन सुधारवादी र बहुजातीय छ । यसले जातीय–मले र बहुसंख्यक मुस्लिमबाट दशकौँसम्म फाइदा लुट्ने जातीय राजनीतिको विरोध गर्छ ।

तर, पदमा रहेका अनवर अझै गम्भीर नीतिमा लागेका छैनन् । यसको सट्टा केही स्वीकार्य प्रभावशाली परिणामका साथ उनी धेरै हदसम्म आन्तरिक राजनीतिमा केन्द्रित छन् । नोभेम्बर २०२२ मा सम्पन्न चुनावबाट बनेकोे त्रिशंकु संसद्मा अनवरको आफ्नै पार्टीको भन्दा पनि ध्रुवीकरण गर्ने इस्लामिक पार्टीको सबैभन्दा बढी सिट थियो ।  जे होस् अनवरले पाकटन हरापानबाहिर रहेका दललाई रोकेर र सरकार गठनका लागि सहयोग गर्न मनाएर सत्तामा पुग्ने असम्भव बाटोमा हिँडे । अन्य दलहरू उनको ‘एकता’ सरकारमा सामेल भइरहेका छन्, जसले अब संसद्को शक्तिशाली दुईतिहाइको कमान्ड गरेको छ । 

डिसेम्बर १२ मा अनवरले पहिलोपटक आफ्नो मन्त्रिपरिषद् फेरबदल गरे, जुन कदम उनको बढेको शक्ति संकेत गर्ने उद्देश्यले थियो । यातायातमन्त्री र अनवरका सहयोगी एन्थोनी लोक तर्क गर्छन् कि ‘संसद्मा यस्तो बलियो स्थितिको साथ, हामीले शासनमा ध्यान केन्द्रित गर्न सक्षम हुनुपर्छ, प्रमुख नीतिहरूमा संक्रमण र अर्थतन्त्रको विकासमा केन्द्रित हुनुपर्छ ।’

अनवरको आफ्नो गठबन्धन विस्तार गर्ने प्रयासले उनलाई नराम्रो सम्झौतामा धकेल्यो । एकता सरकारको प्रमुख समर्थक युनाइटेड मलायज नेसनल अर्गनाइजेसन (युएमएनओे)को अवशेष हो, जसले सन् २०१८ मा उसले नेतृत्व गरेको गठबन्धन बारिसन नेसनलको भंग हुनुअघिसम्म स्वतन्त्रतापछिको राजनीतिमा प्रभुत्व जमायो । अनवरले बारिसनको पतनमा भूमिका खेले । आज यसका प्रमुख अहमद जाहिद हमिदी उनको सरकारका उपप्रधानमन्त्री छन् । जाहिदले विश्वासको उल्लंघन, भ्रष्टाचार र पैसा शुद्धीकरणलगायत दर्जनौँ आरोपहरू सामना गरे (जसलाई उनले अस्वीकार गर्दै आएका छन्) । सरकारले मुद्दाअघि नबढाउने निर्णय गरेपछि सेप्टेम्बरमा उच्च अदालतले उनलाई रिहा गरेको थियो ।

प्रधानमन्त्री अनवरले बारिसनलाई आलिंगन गर्नु (जुन कमजोर मलेसियाली राजनीतिको प्रतीक हो) भनेको सुधारवादीका पूर्वसमर्थकलाई निराश पार्ने एक मात्र चिज होइन । अदालतहरू राजनीतिक हस्तक्षेपको जोखिममा रहन्छन् । धेरै शक्ति प्रधानमन्त्रीको कार्यालयमा केन्द्रित छ (अनवरले अर्थ मन्त्रालय पनि सम्हालेका छन्) । पैसा शुद्धीकरणमा निकै आवश्यक कानुन अघि बढेको छैन ।

दक्षिण–पूर्वी एसियाका विद्वान् ब्रिजेट वेल्सका अनुसार मलेसियालीहरूको एउटा ठूलो समूहले उनलाई सत्तामा पुर्याए पनि अनवरले ध्रुवीकृत समाजमा सहिष्णुता बढाउन धेरै न्यून काम गरेका छन् । वास्तवमा एक युवा इस्लामिक आन्दोलनकारीको रूपमा आफ्नो राजनीतिक करिअर सुरु गरेका अनवरले मलाय अन्धविश्वास र धार्मिकतालाई बढ्दो सन्तुष्टि दिइरहेका छन् । अनवरका समर्थक भन्छन् कि मलेसियाका संस्थानहरू पुनर्निर्माण गर्ने उनको इच्छा अझै घटेको छैन । तर, उनको गठबन्धनको प्रकृतिले अहिलेको लागि गम्भीर प्रगतिलाई रोकेको छ ।

गठबन्धन सरकारको समर्थन उल्लेखनीय देखिए पनि सुधारविरोधी युनाइटेड मलायज नेसनल अर्गनाइजेसन (युएमएनओ) गठबन्धनबाट बाहिर गयो भने सरकार कमजोर हुनेछ । अन्य दलहरू पनि सरकारबाट बाहिरन सक्छन् । अर्को चुनावमा हरापानलाई बहुमत दिलाउँन राजनीतिक अवरोधबीच सभ्य रूपमा शासन गर्ने उनको उत्तम रणनीति रहेको उनका समर्थक बताउँछन् । त्यसपछि गम्भीर सुधार सुरु हुन सक्छ । यसबीचमा अनवरले विदेशी लगानी आकर्षित गर्नेजस्ता काम गर्न सक्छन् । 

तर, ०२७ सम्म निर्वाचन हुनेछैन । अनवरको सुधारको स्पष्ट त्यागको लागत छ । यसले मलेसियालीहरूको राजनीतिप्रति बढ्दो मोहभंगलाई बलियो बनाउँदै छ । अनि कसरी हुन सकेन ? तिनीहरूको लामो–प्रतिज्ञा गरिएको परिवर्तनको विजेता अहिले यसका लागि बाधाजस्तो देखिन्छ ।

– द इकोनोमिस्टबाट
 

सुझावित समाचार