अन्तर्राष्ट्रिय हवाई यात्रुमा कीर्तिमान, आन्तरिक घटे

सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्ने ८६ लाख ९१ हजारमध्ये साढे ४५ लाख अन्तर्राष्ट्रिय यात्रु

आइतबार, २९ पुष, २०८०
डिजिटल संस्करण
अन्तर्राष्ट्रिय हवाई यात्रुमा कीर्तिमान, आन्तरिक घटे

१ भदौमा बंगलादेशबाट विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका बंगलादेशी पर्यटक । फाइल तस्बिर

सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर हवाई यात्रा गर्ने यात्रु संख्या ९.२ प्रतिशतले बढेको छ । एक वर्षमा ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाई यात्रा गरेका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । सन् २०२२ मा विमानस्थलबाट आवागमन गर्ने यात्रुको संख्या ७९ लाख ५४ हजार चार सय ९५ रहेको थियो । तर, अघिल्लो वर्षको तुलनामा गत वर्ष उडान र अवतरण संख्या ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २०२२ मा त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय र आन्तरिक गरी एक लाख ३२ हजार पाँच सय १४ उडान–अवतरण भएकोमा २०२३ मा एक लाख २८ हजार चार सय ४९ उडान–अवतरण भएका छन् । 

सन् २०२३ मा अन्तर्राष्ट्रिय हवाई यात्रु (भित्रिने र बाहिरिने) अघिल्लो वर्षको तुलनामा ३०.१८ प्रतिशतले बढेर ४५ लाख ४१ हजार पुगेका छन् । यो संख्या कोभिड महामारीअघि सन् २०१८ को भन्दा ४.५ प्रतिशतले बढी हो । सन् २०२२ मा ३४ लाख आठ हजार र सन् २०२१ मा करिब १४ लाख ५७ हजार हवाई यात्रु टिआइएबाट आवागमन गरेका थिए । अन्तर्राष्ट्रिय उडान–अवतरण एक वर्षमा ३१ हजार चार सय ६० पटक भएको छ, यो संख्या अघिल्लो वर्षको तुलनामा २९.४० प्रतिशतले बढी हो । तर, कोभिडअघि सन् २०१८ को तुलनामा भने अन्तर्राष्ट्रिय उडान–अवतरण १०.७६ प्रतिशतले घटेको छ । यस्तै, अघिल्लो वर्षको तुलनामा कार्गो ढुवानी १३.९८ प्रतिशतले घटेर २२ हजार नौ सय ४६ टनमा सीमित भएको छ । 

सन् २०२३ मा विभिन्न देशबाट १० लाख १४ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै, सोही वर्ष १६ लाख तीन हजार आठ सय ३६ नेपाली रोजगारी, भ्रमण, पारिवारिक भेटघाट, अध्ययन, स्थायी बसोवास, सेमिनार, व्यवसायलगायत विभिन्न प्रयोजन खुलाएर विभिन्न देशमा पुगेको अध्यागमन विभागको तथ्यांक छ । अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्ससहित विभिन्न देशका दुई दर्जनभन्दा बढी वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । नेवानि, हिमालय, कतार, एयर इन्डिया, फ्लाई दुबई, एयर अरेबियालगायत वायुसेवा धेरै उडान गर्नेमा पर्छन् । 

७ प्रतिशत घटे आन्तरिक यात्रु 
अन्तर्राष्ट्रिय यात्रु उत्साहजनक रूपमा बढ्दा आन्तरिक हवाई यात्रा गर्ने यात्रु भने ७.०७ प्रतिशतले घटेका छन् । सन् २०२३ मा ४१ लाख ५० हजार तीन सय २६ आन्तरिक यात्रुले त्रिभुवन विमानस्थल भएर देशका विभिन्न गन्तव्यमा आवागमन गरेका छन् । सन् २०२२ मा ४४ लाख ६६ हजार एक सय ५२ यात्रुले आन्तरिक उडान सेवा लिएर कीर्तिमानी कायम गरेका थिए । कोभिडअघि सन् २०१८ मा २८ लाख ४८ हजार, सन् २०१९ मा ३१ लाख ८८ हजार, सन् २०२० मा १३ लाख ४९ हजार र सन् २०२१ मा ३५ लाख ७७ हजार रहेको थियो । कोभिड महामारीपछि बढ्न थालेका आन्तरिक हवाई यात्रु पछिल्लो समय इन्धनको बढ्दो मूल्य र भ्याटका कारण हवाई भाडा चर्किएपछि सन् २०२३ मा घटेको देखिन्छ । 

आन्तरिक उडान १० प्रतिशत कम 
सन् २०२३ मा त्रिभुवन विमानस्थलमा ९६ हजार नौ सय ८९ आन्तरिक उडान–अवतरण भएका छन्, जुन संख्या अघिल्लो वर्षको तुलनामा १०.३६ प्रतिशतले कमी हो । हवाई यात्रा गर्ने यात्रुको संख्या घटेसँगै वायुयान उडान–अवतरणसमेत घटेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अहिले नेपालमा वायुसेवा निगम, बुद्ध, यती, तारा, श्री, सौर्य, समिट, सीता, गुणलगायत नौ वायुसेवा कम्पनीले आन्तरिक हवाई सेवा प्रदान गर्दै आएका छन् । जसमध्ये गुण एयरलाइन्सको उडान सेवा गत वर्षदेखि पूरै रोकिएको छ । आन्तरिक उडानका लागि बुद्धसँग १७, यतीसँग पाँच, श्रीसँग आठ, सौर्यसँग तीन, तारासँग तीन, समिटसँग चार, सीतासँग तीन, निगमसँग चिनियाँसहित आठवटा र गुणसँग सातवटा जहाज रहेका छन् । निगमसँग भएका पाँचवटा चिनियाँ र एउटा ट्विनअटर जहाज भने वर्षौँदेखि ग्राउन्डेड अवस्थामा छन् । नेपालमा काठमाडौं, भैरहवा र पोखरामा तीनवटा अन्तर्राष्ट्रियसहित ५४ वटा विमानस्थल सञ्चालनमा छन् । जसमध्ये करिब तीन दर्जन विमानस्थलमा मात्रै उडान–अवतरण हुँदै आएको छ ।

सुझावित समाचार