करङ भाँचिएको अवस्थामा कांस्य जितेँ

शनिबार, २८ पुष, २०८०
डिजिटल संस्करण
करङ भाँचिएको अवस्थामा कांस्य जितेँ

११औँ सागमा अफगानिस्तानविरुद्ध भिड्दै देबु थापा (नीलो) ।

जुडो खेलाडी हुँदै अहिले प्रशिक्षकको भूमिकामा रहेकी देबु थापाले झन्डै तीन दशक खेल क्षेत्रमा बिताएकी छिन् । ०५२ मा नेपाल प्रहरीमा आबद्ध भएकी उनले ०५३ मा पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरिन् । प्रशिक्षण थालेको १३ दिनमै उनले स्वर्ण दिलाइन् । उनले दुई दक्षिण एसियाली र दुई एसियन खेलकुदमा प्रशिक्षकको भूमिका निर्वाह गरेकी छिन् । सन् २०११ को ढाका सागका क्रममा भएको लिफ्ट दुर्घटनालाई उनले अहिलेसम्म बिर्सन सकेकी छैनन् । खेल सुरु हुनु एक दिनअघि होटेलको लिफ्ट चुँडिँदा उनीसहितका खेलाडी सेकेन्डभरमै ११औँ तलाबाट भुइँ तलामा बजारिए । शरीरको दायाँ भाग चलाउन नसक्ने स्थितिमा पनि देबु रिङमा उत्रिइन् र देशका लागि कांस्य पदक जितिन् । सागको त्यो कांस्यलाई उनी स्वर्ण जितेसरह मान्छिन् । खेल्नुअघिको दुर्घटना र कांस्य पदक जितेको रोमाञ्चक क्षणलाई उनले श्रीलोचन राजोपाध्यायलाई यसरी सुनाइन् :

सन् २०१० मा बंगलादेशको ढाकामा ११औँ साग गेम भएको थियो । नेपालबाट सहभागी खेलमध्ये जुडो पनि थियो । हाम्रो जुडोटोली ढाकामा राति पुगेको थियो । राति पुगेका हामी खेलाडी, प्रशिक्षक र टिम म्यानेजर फरक–फरक स्थानमा बस्यौँ । ढाका पुगेको तेस्रो दिनमै खेल थियो । बिहान को–को कहाँ हो भनी सोध्यौँ । तर, जुडोको आधिकारिक व्यक्ति कोही पनि भेटिइएन । टोलीमा म सबैभन्दा सिनियर खेलाडी थिएँ । भोलि खेल छ, एक दिनअगाडि तौल चेक गर्नुपर्छ । होटेल इम्पेरियलबाट एउटा भ्यान बन्दोबस्त गरी वेट परीक्षण गर्ने स्थानतिर लाग्यौँ । होटेलबाट करिब आधा घण्टापछि ड्राइभरलाई कल आयो । सम्भवतः ड्राइभरलाई नेपाली जुडोटोली त्यसमा हो भनी कल आएको हुनुपर्छ । ड्राइभरले हामीलाई हिन्दी भाषामा पुनः होटेलमा फर्कनुपर्ने बताए । होटेलमा टिम म्यानेजरदेखि प्रशिक्षकसम्म आएका रहेछन् । उनीहरूले हामीलाई खेजिरहेका थिए । होटेलमा पुग्दा सदस्यसचिवदेखि मन्त्रीसम्म देखेँ । 

हामी कसैले पनि रातिदेखि नै राम्रोसँग खान पाएका थिएनौँ । इम्प्रेरियल होटेलको लिफ्टमा फसेका पत्रकारहरूले बबाल मच्चाइसकेका थिए । पछि होटेल मालिकले ब्रिगिएको लिफ्ट बनाएर चलाएका रहेछन् । हाम्रो आइडी कार्ड र भत्ता बुझ्ने १२औँ तलामा थियो । लिफ्टमै बसेर १२औँ तलासम्म जाने निधो भयो । तर, लिफ्ट प्याक थियो । त्यसपछि हामी सबै खेलाडी नौ तलासम्म हिँडेर पुग्यौँ । त्यहाँबाट फेरि १२ तलासम्म हिँड्यौँ । त्यसै फ्लोरमा स्विमिङका अध्यक्ष अशोक बज्राचार्यले ‘तिमीहरूको आइडी कार्ड र सबै भत्ता टिम म्यानेजरले लगेको’ सुनाए । विनाकारण बोलाएको र १२ तलासम्म हिँडेर माथि पुग्दाको क्षणमा यति रिस उठ्यो कि कुरै नगरौँ । हामीलाई अरूभन्दा पनि भोलिको खेलको चिन्ता थियो । खेलअगाडि सबै चेकचाँज हुनुपथ्र्यो । तर, केही पनि भएको थिएन । 

१२औँ तलामा जाने लिफ्टमा मानिसको भरिभराउ थियो । एक तला हिँडेर ११औँ फ्लोरमा आयौँ । अरे, कति हिँड्ने भन्नेजस्तो भयो । संयोगले ११औँ तलामै लिफ्ट रोकियो । लिफ्टभित्र भारोत्तोलनका गोपाल दाइ र एकजना पाकिस्तानी खेलाडी थिए । गोपाल दाइले हामी नौजना जुडोका खेलाडीलाई बोलाउनुभयो । लिफ्ट सामान्य अवस्थामै थियो । यदि तौल बढी भएको भए लिफ्टको ढोका बन्द हुँदैनथ्यो । त्यो होटेल बंगलादेश र पाकिस्तान अलग हुनुअगाडिको थियो । सम्भवतः लिफ्ट पनि त्यसै समयको हुनुपर्छ । तल झर्दै गर्दा गोपाल दाइले मलाई भन्नुभयो, ‘देबु यसपटक तिम्रो गोल्डमेडल पक्का छ नि ।’ मैले भनेँ, ‘भारतलाई टक्कर दिने किसिमको प्रशिक्षण गरेकी छु, भाग्यको साथ पाउँदा पक्कै स्वर्ण नै नेपाललाई दिलाउँछु भनी उत्तर फर्काएँ ।’ यतिकै लिफ्टमा झर्‍याक्कजस्तो आवाज आयो । लिफ्टको सिक्री चुँडिएको रहेछ ।

सकेन्डभरमै लिफ्ट ग्राउन्ड फ्लोरमा बजारियो 
म, कालुमान र रमेश मगर साइडमा उभिएका थियौँ । केही सेकेन्डमै लिफ्ट ग्राउन्ड लेभलमा बजारियो । स्पिडमा खसेको लिफ्ट भुइँमा बजारिएर चार तलासम्म स्विङ भयो । फेरि ग्राउन्डबाट दुई तल्लासम्म स्विङ भयो । त्यसपछि पुनः भुइँतलामा बजारिएपछि एक तलामा लिफ्ट अड्कियो । 

११औँ तलाबाट सेकेन्डभरमै लिफ्ट ग्राउन्ड फ्लोरमा बजारियो । स्पिडमा खसेको लिफ्ट भुइँमा बजारिएर चार तलासम्म स्विङ भयो । दुईपटकसम्म स्विङ भएको लिफ्ट एक तलामा अड्कियो । यसवेलासम्म मेरो शरीरको दायाँ भाग नचल्ने भइसकेको थियो । तीनवटा करङ भाँचिएका रहेछन् ।

लिफ्टभित्र सबैले ‘आयाँ–आयाँ’ भन्दै थिए । कोही रोइरहे । लिफ्ट कुन समयमा एकैपटक ग्राउन्डमा बजारिएको हो, थाहा भएन । पहिलोपटकको स्विङमै लिफ्ट बजारिँदा मेरो टाउको सिलिङमा ठोक्किएको रहेछ । जसका कारण म ‘अनकन्सियस’ भइसकेकी थिएँ । मेरो होस नै थिएन । लिफ्टमा कालुमान तामाङ, रमेश मगर र मलाई बढी चोट लागेको थियो । एक तलामा अड्किएको लिफ्टको ढोकासमेत बन्द थियो । बाहिरका नेपालीले भित्र फसेका खेलाडीलाई निकाले । म बेहोस भएर लडेको अवस्थामा थिएँ । मैले केवल ‘मेरो परिवार र खेलाडी’ बोलाइदिन भनिरहेकी थिएँ । मेरो दायाँ खुट्टाको थाई मसल्स र लिगामेन्ट पनि गइसकेको रहेछ । मेरो घाँटी चल्दै चलेन । शरीरमा चोट लागेको भागबाट रगत बगिरहेको थियो ।

तत्कालै मलाई नेपालीहरू डाक्टर पढ्ने ठूलो अस्पतालमा लगियो । त्यहाँ घाइते अरू खेलाडी सामान्य उपचारपछि होटेलमा फर्किरहेको देखेँ । सुरुमा मलाई इमर्जेन्सीमा राखियो । त्यसपछि आइस रुममा फोहरा दिन थाल्यो । अस्पतालमा मात्र थाहा पाएँ, मेरा तीनवटा करङ भाँचिएका रहेछन् । अलि–अलि होस आएका वेला आफ्नो अवस्था देखेर रोएँ । ढाकामा स्वर्णको दाबेदारीअनुरूप तयारी गरेकी थिएँ । अब मेरो खेल जीवन समाप्त हुने भयो, मेरो करिअर यति मात्रै हुने त होइन ? अब कसरी खेल्ने र सागमा पदक जित्ने ठूलो सपना बिलाउने भयो । त्यो सम्झँदै भक्कानिएर रोएँ । अस्पतालमा एकजना मुसलमान टाइपका बंगाली डाक्टर आउनुभयो । ती डाक्टर अप्रेसन रुममा नगई सीधै मेरो सामु आउनुभयो । साफमा भाग लिन आएको नेपाली खेलाडी घाइते भएको सुनेर उहाँ आउनुभएको रहेछ । एकैपटक उहाँले भन्नुभयो, ‘म तिमीलाई मेडल दिन सक्ने बनाउँछु ।’ 

बंगाली डाक्टरले दिएको हिम्मत
शरीरको दायाँ साइड नै नचल्ने खेलाडीले कसरी मेडल जित्न सक्छ भनी उत्तर दिएँ । म पुलिसको खेलाडी भएका कारण विलिङ पावर छ भन्ने उहाँलाई थाहा थियो । त्यसपछि मलाई पुनः आइस फोहरा दिन थाले । आइस फोहरा दिएको ६ घण्टाभित्र मलाई पाँचवटा सुई दिइयो । मलाई लाग्छ, त्यो पेनकिलर हुनुपर्छ । ती मुसलमान डाक्टरले एक्स–रे हेर्दै टेपिङ गर्नुभयो । लगभग मेरो दायाँ साइड पूरै टेपिङ थियो । यस वेलासम्म मेरो मोरल डाउन नै भयो । मेरो दिमागमा भोलि गेम छ, कसरी खेल्ने भन्ने कुरा चलिरहेको थियो । संयोगवश हाम्रो अवस्थाका कारण आयोजकले तीन दिनपछि गेम राखे । अस्पतालमा हाम्रो जापानिज गुरु आउनुभयो । गुरुले रुँदै भन्नुभयो, ‘नेपालबाट मैले पदक आशा गरेका खेलाडी सबै घाइते छन् ।’ 

तर, मैले त्यसवेलासम्म हरेस खाएकी थिइनँ । सबै नेपालीको आशीर्वाद र भगवान्ले साथ दिएसम्म खेल्ने संकल्प गरेकी थिएँ । तर, म उभिन सक्ने अवस्थामा थिइनँ । अस्पतालबाट होटेलसम्म पुग्दासम्म म ह्विलचियरमै थिएँ । होटेलमा भारतीय खेलाडी र प्रशिक्षकले तिम्रा लागि भगवान्सँग प्रार्थना हामीले गरेको भने । 

टिम मिटिङमा ‘देबुलाई खेलाउने कि नखेलाउनेबारे छलफल भइरहेको थियो । सबै जोखिम नलिने निर्णयमै पुगेका थिए । जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचायले एकपटक मलाई चान्स दिनुपर्ने भन्नुभयो । मेरो उपचारमा संलग्न बंगलादेशी डाक्टरले नै खेल्न सक्छ भनी रिफर गर्नुभयो । उहाँको रिफरपछि मैले खेल्ने अवसर पाएँ । बंगलादेशी डाक्टरले भन्नुभयो, ‘देबु रिक्स धेरै छ, तर मेडलपछि म स्वयं नै चेकअप गर्छु ।’ अहँ खेल्ने हिम्मत नै मसँग थिएन । रमाइलो पक्ष के रह्यो भने म स्वयंलाई भन्दा पनि अरूलाई मैले मेडल ल्याउन सक्ने आत्मविश्वास थियो । टाइपिङ गरेको शरीर ६५ केजीबाट ७० केजी भइसकेको थियो । गेमअगाडि खाली पेटमा पेनकिलर लिएँ । त्यसपछि चार–पाँचजना मान्छे देखेँ । 

वार कि पारको अवस्थामा थिएँ 
कांस्य पदक जितेपछि

जसोजसो गरी खेल्न म तयार भएँ । दुर्भाग्य भन्नुपर्छ, भारतविरुद्ध नै टाइसिटमा पहिलो गेम थियो । हाम्रो गेम चार मिनेटको हुन्छ । मैले भारतीय खेलाडीलाई तीन मिनेटसम्म रोकेँ । उसले मेरो चोट लागेको खुट्टामै हान्यो । यसले थप पीडा दियो । दोस्रो खेल अफगानिस्तानसँग थियो । त्यसवेला मैले दुई घण्टाको रेस्ट पाएँ । रिङबाहिर मलाई सबैले समर्थन गरिरहेका थिए । पेनकिलरका कारण मलाई बान्ता आउलाजस्तो भइरहेको थियो । फेरि पेनकिलरकै कारण पिसाब पनि बगिरहेको थियो । टेपिङले गर्दा खुट्टा राम्रोसँग चलाउन सक्ने अवस्थामा नै थिए । 

यस्तो समस्याबीच अफगानी खेलाडीसँग भिड्न म्याटमा उत्रिएँ । अफगानी खेलाडीको योजना जसरी पनि जित्ने र मलाई ड्यामेज बनाउने थियो । पछाडिबाट गुरुहरूको मलाई एकपटक चान्स लिनुपर्छ । वार कि पार भन्ने सुझाव थियो । त्यो क्षणमा कहाँबाट हो, यति बल निस्कियो कि चोट लागेको र चलाउन नसक्ने दायाँ खुट्टाकै भरमा अफगानी खेलाडीविरुद्ध भिडेँ । उसलाई निओजाबाट च्यापेँ । २० मिनेट च्यापेपछि निप्पोनका आधारमा अंक पाएर खेल जितेँ । यसपछि तेस्रो खेल श्रीलंकाली खेलाडीसँग थियो । मैले दुई मिनेटभित्र नै श्रीलंकालाई हराएँ । खेल जितेसँगै मेरो कांस्य सुरक्षित भयो । 

एकैपटक म्याटमा लड्न पुगेँ । कसले के गर्‍यो थाहा नै भएन । दुईपटक कांस्य पदकका लागि फाइट गरेको क्षण जादु नै गरेको जस्तो थियो । त्यो कांस्य पदक भनेको मेरा लागि स्वर्ण पदकसरह नै थियो । शरीरको एक भाग नै नचल्ने खेलाडीले हिम्मत गरेर राष्ट्रका लागि कांस्य पदक दिलाएँ । एक खेलाडीले आफ्नो जीवन नै दाउमा राखी राष्ट्रका लागि यतिभन्दा अरू के गर्न सक्छ र ? ढाका सागमा कांस्य पदक आउनुपछाडि डाक्टरहरूलाई धन्यवाद दिन चाहन्छु । यदि उहाँहरूले मलाई तीन दिनभित्र फिट नगराएको भए मैले कांस्य जित्न सक्दिनथेँ होला । 

६ महिना बेडमै बसेँ
नेपालमा मेरो उपचार टिचिङमा भयो । करिब ६ महिना बेडमै बसेँ । तीन महिना त एक साइडमा मात्र सुतेँ होला । तर, यसबीचमा मैले राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयबाट केवल आश्वासन मात्र पाएँ । म पुलिसकी खेलाडी भएकाले सबै उपचार पुलिसबाट हुनुपर्नेजस्तो व्यवहार गरेको पाएँ । तर, सागमा मैले नेपालबाट प्रतिनिधित्व गरेकी थिएँ, पुलिसबाट होइन । यहाँ अस्पतालको शड्ढयामा रहँदा मैले घाइतेको बहाना गरेको र नक्कली चोट देखाएको जस्तो प्रतिक्रिया सुनेँ । तीन–तीन महिना बेडको एक साइडमा सुतेको मान्छेलाई मात्र थाहा हुन्छ, चोटको पीडा कस्तो हुन्छ भनेर । त्यसवेलाको सम्बन्धित निकायबाट गरेको व्यवहार सम्झिँदा साह्रो रिस उठ्छ । ढाकाको साग चोटले अहिलेसम्म पछ्याइरहेको छ । त्यो सागको घटनाले अहिले पनि म झस्किन्छु । खेलाडीलाई लिएर कतै बाहिर जाँदा सुरुमा होटेलको लिफ्टको अवस्था हेर्ने गरेकी छु । लिफ्टमा ओभर वेट भयो भने प्रतीक्षा गर्छु । कहिलेकाहीँ लिफ्ट भएको होटेलमा भर्‍याङ चढेर पनि गएकी छु । एउटा कुरा भन्न मन लाग्छ, टिचिङको उपचारका क्रममा एक दिन म दुई घण्टा पुनः लिफ्टमा फसेकी थिएँ । यसले पनि म झनै तर्सिएँ । 

See More On

सुझावित समाचार