सत्तागठबन्धनले सबै जिल्लामा समन्वय समिति बनाउने

बिहिबार, २६ पुष, २०८०
डिजिटल संस्करण

सत्तारूढ गठबन्धनले आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन ७७ वटै जिल्लामा समन्वय समिति गठन गर्ने भएको छ । सत्तारूढ गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बुधबारको बैठकले समन्वय समिति गठन गर्ने निर्णय गरेको हो । 

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन जिल्ला तहसम्म समिति गठन गर्ने निर्णय भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । ‘सातै प्रदेश र ७७ वटै जिल्लामा समन्वय समिति गठन गर्ने निर्णय भएको छ,’ पाण्डेले भने । गठबन्धनले कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा चार सदस्यीय केन्द्रीय समन्वय समिति बनाएको छ । समितिमा माओवादीका उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीबाट उपाध्यक्ष पाण्डे र जसपाबाट नेता मनीष सुमन छन् । 

सातवटै प्रदेशको गठबन्धनमा आबद्ध पार्टीहरूको मतसंख्या र मतभारबारे प्रारम्भिक विश्लेषणसमेत गरिएको लेखकले बताए । ‘सातवटै प्रदेशको मतसंख्या र मतभारको एकसरो विश्लेषण पनि गरिएको छ,’ लेखकले भने, ‘अब गठबन्धनको मत संगठित गरी उम्मेदवारलाई विजयी बनाउनका लागि प्रदेश र जिल्लामा समेत संगठित ढंगले काम अगाडि बढ्नेछ ।’

केन्द्र र प्रदेशमा गठबन्धनमा रहेका, तर उम्मेदवारी नदिएका साना दलहरूलाई पनि प्रदेश र जिल्लामा समेटेर समन्वय समिति बनाउने गठबन्धनले निर्णय गरेको छ । ‘हामी उम्मेदवार नभए पनि प्रदेश र जिल्लामा मत रहेका गठबन्धनका अन्य दललाई पनि समेटेर तल समन्वय समिति बनाउँछौँ,’ लेखकले भने । समन्वय निर्वाचन आयोगको कार्यतालिकाअनुसार सातवटै प्रदेशमा सोमबार ५२ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका दुई र जसपाबाट एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । 

१९ पदका लागि हुने निर्वाचनमा प्रमुख विपक्षी दल एमालेले भने सबै रिक्त पदमा उम्मेदवारी दिएको छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार बुधबार र बिहीबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, २७ पुसमा उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र २८ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न वितरणको कार्यक्रम रहेको छ ।
 

सुझावित समाचार