मिटरब्याजीको आरोपमा गत १७ भदौदेखि पुर्पक्षका लागि सिराहा कारागारमा रहेकी मिर्चैया नगरपालिका– ६ की करिब ३५ वर्षीया सुजाताकुमारी साहलाई रिहा गर्न सिराहा जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश शिवबहादुर रानाभाटको आदेशमा अभियोग दाबी नपुग्ने फैसलासँगै साह रिहा हुने भएकी हुन्।
गत १७ भदौमा थुनछेक बहसको क्रममा साहमाथि लगाइएको अनुचित लेनदेनको आरोपको प्रकृतिअनुसार धरौटी वा साधारण तारेखमा छोड्न नमिल्ने भएकाले पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको थियो । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी अध्यादेशका आधारमा अदालतबाट आरोपीलाई पुर्पक्षका लागि कारागार पठाइएको र सफाइ पाएको याे पहिलो मुद्दा हो ।
मिर्चैया प्रहरीले स्थानीय पीडितहरूले दिएको अनुचित लेनदेनसम्बन्धी जाहेरी दर्ता गरी सिराहा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर गत २४ साउनमा साहलाई पक्राउ गरेको थियो।
मिर्चैया क्षेत्रमा बसेर चर्को ब्याजमा रकम लगानी गर्ने र ऋण लिनेहरूको घरबारसमेत आफ्नो नाममा रजिस्ट्रेसन गराई कैयौँको उठीवास गराउन सक्रिय रहेको आरोपसहित साहविरुद्ध स्थानीय ममताकुमारी रायले जाहेरी दिएकी थिइन्। घर–व्यवहारका लागि साहसँग लिएको दुई लाख रुपैयाँको साँवा–ब्याजसहित १८ लाख हजार रुपैयाँ असुलेर पनि रायको मिर्चैया बजारमा रहेको ६ धुर जग्गासमेत आफ्नो नाममा लिएर बिक्री गरेको साहमाथि आरोप थियो।
ममतासँग नगदबाहेक जग्गा, लघुवित्तमा राखेको जग्गा र कपाली तमसुकसहित गरी ३४ लाख रुपैयाँको हाराहारीमा साहले रकम असुल गरेको मिटरब्याजविरुद्ध संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले बताए ।