०८३ बाट एनडिसी कोर्स सुरु गरिने, भौतिक पूर्वाधार र पाठ्यक्रम तर्जुमा गरिँदै
सरकारले सेनाको व्यवस्थापनमा दुई वर्षपछि (०८३ देखि) राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने भएको छ । आगामी वर्षदेखि सुरु गर्ने प्रारम्भिक तयारी रहे पनि बजेटको सीमितता र कोरोना महामारीका कारण एनडिसी कोर्स सञ्चालन दुई वर्ष पछि धकेलिएको छ । त्यसका लागि भौतिक पूर्वाधार र पाठ्यक्रम तयारी अन्तिम चरणमा पुगेको छ ।
‘भौतिक पूर्वाधार निर्माण (हार्डवेयर) र पाठ्यक्रम तर्जुमा (सफ्टवेयर)को काम समानान्तर रूपमा अघि बढाएका छौँ । ०८१ देखि नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने लक्ष्य थियो, तर कोरोना र बजेटलगायत कारण सम्भव भएन,’ विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष पूर्वरथी बालानन्द शर्माले नयाँ पत्रिकासँग भने, ‘अब ०८२ भित्र पूर्वाधार निर्माण सकेर ०८३ देखि एनडिसी सुरु गर्ने गरी सबै पक्षमा काम भइरहेको छ ।’ विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला र पूर्वराजदूत एवं परराष्ट्रविद् डा. शम्भुराम सिंखडा सदस्य छन् ।
बालानन्द शर्मा, अध्यक्ष, विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति
भौतिक पूर्वाधार निर्माण (हार्डवेयर) र पाठ्यक्रम तर्जुमा (सफ्टवेयर)को काम समानान्तर रूपमा अघि बढाएका छौँ । ०८१ देखि नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने लक्ष्य थियो, तर कोरोना र बजेटलगायत कारण सम्भव भएन । अब ०८२ भित्र पूर्वाधार निर्माण सकेर ०८३ देखि एनडिसी सुरु गर्ने गरी सबै पक्षमा काम भइरहेको छ ।
विश्वविद्यालयअन्तर्गत ११ महिने एनडिसी कोर्स सञ्चालनको तयारीका लागि सरकारले आगामी तीन वर्षका लागि एक अर्ब ९८ करोड रकम विनियोजन गरेको छ । अध्यक्ष शर्माका अनुसार रकम निकासा हुने क्रममा छ । ‘नेपाल सरकारको लक्ष्यअनुसार ०८३ देखि कोर्स सुरु गर्ने गरी अघि बढेका छौँ । त्यसअघि नै पूर्वाधार निर्माणको कार्य सम्पन्न हुन्छ । एनडिसी सुरु भएपछि अन्य कलेजको सुरुवात हुन्छ,’ उनले भने । नेपालमा पहिलोपटक एनडिसी कोर्स सुरु हुँदै छ, जसमा सहायक रथी दर्जाका सैनिक अधिकृतले अध्ययनको मौका पाउनेछन् । सहायक रथीबाट उपरथीमा बढुवाका लागि एनडिसी कोर्स अनिवार्य छ ।
सरकारले १२ फागुन ०७६ मा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६’ जारी गरेपछि पूर्वाधारको काम सुरु भएको थियो । राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा गर्ने, गहन खोज तथा अनुसन्धान एवं विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ र समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विश्वविद्यालय स्थापना भएको हो । सुरुमा एनडिसी सेनाका लागि मात्रै हुने र बिस्तारै निजामती सेवा तथा अन्य सुरक्षा निकायका अधिकृतलाई पनि राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षा दिने लक्ष्य राखिएको सेनाले जनाएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा अवस्थित पेरुङेडाँडामा सात सय ५० रोपनी जग्गामा विश्वविद्यालयको पूर्वाधार निर्माण भइरहेको छ । विश्वविद्यालय विकास समितिका सदस्य डा. युवराज संग्रौलाले भने, ‘नेसनल डिफेन्स कोर्स (एनडिसी) सञ्चालन गर्न पुग्ने पूर्वाधार तयार हुँदै छ । ऐनसम्बन्धी मस्यौदाको काम सम्पन्न भइसकेको छ । पूर्वाधार निर्माणका लागि टेन्डरहरू भएका छन् ।’
सैन्य अफिसर विद्यार्थी बस्ने १५ ब्लक, एनडिसी कोर्सको कक्षाकोठा, अडिटोरियम निर्माण भइरहेको छ । एनडिसीको पाठ्यक्रम निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाठ्यक्रमलाई अन्तिम रूप दिन १ देखि ४ पुससम्म विश्वविद्यालयको पाठ्यक्रम मस्यौदामाथि गोष्ठी आयोजना भएको थियो । जंगी अड्डामा आयोजित गोष्ठीमा पाठ्यक्रममाथिको मस्यौदामा समीक्षा भएको थियो । पाठ्यक्रम मस्यौदा उपसमितिमा सेनाका पूर्वउपरथी नरेश भट्ट, पूर्वसहायक रथी सूर्य खनाल, र त्रिभुवन विश्वविद्यालयकी प्रा.डा. मीना वैद्य मल्ल छन् ।
गोष्ठीमा सहभागीका अनुसार भारत, चीन, अमेरिका, बेलायतलगायत देशमा एनडिसी अध्ययन गरेर आएका आठजनाले एनडिसी कोर्सको मोडालिटीबारे प्रस्तुतीकरण दिएका थिए । ती सुझाव समेटेर पाठ्यक्रमलाई थप मजबुत बनाउनुपर्ने निष्कर्ष गोष्ठीको थियो । उपसमितिले अब केही प्राज्ञ र सेनाका बहालवाला तथा भूपूहरूको घेराभन्दा बाहिरका सरोकारवालाको पनि सुझाब लिनेछ ।
अहिलेसम्मको तयारीअनुसार केस स्टडिज, फिल्ड भिजिट तथा बढी व्यवहारवादी प्रकारले एनडिसी कोर्स हुनेछ । यी सबैको केन्द्रमा राष्ट्रिय सुरक्षा हुनेछ । विश्वविद्यालयअन्तर्गत प्रतिरक्षा अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, रणनीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान र सामाजिक अध्ययन तथा अनुसन्धान प्रतिष्ठान सञ्चालन गर्ने लक्ष्य राखिएको छ । ‘विश्वविद्यालयको विधेयक, सांगठनिक संरचना र अवधारणा संसद्बाट पारित भएपछि काम सुरु हुनेछ,’ एक सैनिक अधिकारीले भने ।
भौतिक पूर्वाधार निर्माण (हार्डवेयर) र पाठ्यक्रम तर्जुमा (सफ्टवेयर)को काम समानान्तर रूपमा अघि बढाएका छौँ । ०८१ देखि नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने लक्ष्य थियो, तर कोरोना र बजेटलगायत कारण सम्भव भएन । अब ०८२ भित्र पूर्वाधार निर्माण सकेर ०८३ देखि एनडिसी सुरु गर्ने गरी सबै पक्षमा काम भइरहेको छ ।