विशेष अदालतले प्रतिकूल बकपत्र गर्ने एक सरकारी साक्षी र चारजना प्रहरीलाई सफाइ दिएको छ । सोमबार विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो ।
रसुवाको टिमुरे नाकामा खटिएका प्रहरीहरूले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ असार ०७७ मा दुईवटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । यद्यपि, दुवैको प्रकृति एउटै थियो भने प्रतिवादीहरू पनि उही थिए । टिमुरे सीमा प्रहरीचौकीमा कार्यरत प्रहरीहरूले चीनबाट नेपालतर्फ ल्याएको सुन आपसमा बाँडीचुँडी लिएको अख्तियारको अनुसन्धानले देखाएको थियो । ११ पुस ०७६ मा उक्त सुन र व्यक्ति सम्बन्धित निकायमा नबुझाई आपसमा बाँडेको खुलेको थियो ।
प्रहरी हवल्दार रामशरण रिमालले चीनबाट आएको एउटा कन्टेनरमा सवार यात्रुबाट चार सय २२ ग्राम सुन कब्जा गरेका थिए । यो कुरा प्रहरी निरीक्षक खेमप्रसाद नेपाललाई जानकारी भए पनि आवश्यक कारबाही नगरी रिमाललाई बिदा दिएका थिए ।
अख्तियारका अनुसार उक्त सुन केरुङ नाकाबाट नेपालतर्फ आइरहेको सूचना अर्का प्रहरी हवल्दार पुरुषोत्तम खत्रीले रिमाललाई दिएका थिए । अर्का हवल्दार रामकाजी लामाले सुन लुकाउन भूमिका खेलेको अभियोग थियो । उनीहरू चारैजनाउपर साढे २५ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको थियो । बिगो असुलउपर र दोब्बर जरिवाना तिराउन मागदाबी लिइए पनि राजस्व छली भ्रष्टाचार गरेको उक्त अभियोगमा चारैजनाले सफाइ पाएका छन् ।
२२ मंसिर ०७६ मा पनि चीनबाट अवैध रूपमा ल्याइँदै गरेको सुन र सुन ल्याउने मान्छे दुवैलाई चारजना प्रहरी मिलेर उन्मुक्ति दिएको तथा सुन बाँडीचुँडी लिएको अभियोग लगाइएको थियो । अख्तियारका अनुसार सुन ल्याएको गाडी प्रहरी निरीक्षक नेपालले आफैँ नियन्त्रणमा लिएका थिए भने सुन बिक्री गर्न मातहतका हवल्दारहरू लामा र खत्रीलाई आदेश दिएका थिए । उक्त घटनामा एक सय ११ ग्राम सुन बरामद भएको थियो ।
सुनको तत्कालीन मूल्य ६ लाख ७७ हजार रुपैयाँ तोकी चारै प्रहरीमाथि राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको थियो । उनीहरूले यो मुद्दामा पनि सफाइ पाएका हुन् । यस घटनामा अख्तियारले सरकारी साक्षीका रूपमा कल्याणी सुवेदीलाई अदालतमा पेस गरेको थियो । तर, उनले प्रतिकूल बकपत्र गरेको भन्दै यसै वर्ष १२ असोजमा मुद्दा दायर भएकोमा उनले पनि सफाइ पाएकी हुन् ।
दोलखाको शैलुंगेश्वर गाउँपालिकाकी उनले राजस्व चुहावट गरी बिक्री गर्न ल्याइएको सुन अभियुक्त प्रहरीहरूले आफूलाई राख्न दिएको र आफूले राखेको भनी अख्तियारलाई बताएकी थिइन् । तर, अदालतमा भने त्यसको प्रतिकूल बकत्रप गरेको भन्दै अख्तियारले ६ लाख ७७ हजार बिगो दाबी गर्दै उनीविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।