१९ सिटका लागि ५२ जनाको मनोनयन दर्ता

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

अगामी माघ ११ गते १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ५२ जनाको मनोनयन दर्ता भएको छ। ताेकिएकाे समय सोमबार अपराह्न ३ बजेसम्म सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा गरी ५२ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

कोशी प्रदेशमा ‘महिला’ समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र ‘अन्य’ समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

यसैगरी, मधेश प्रदेशमा ‘महिला’ समूहका लागि २ राजनीतिक दलका तर्फबाट र ‘अन्य’ समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ उम्मेदवारको मनोनयन-पत्र दर्ता भएको छ।

बागमतीमा ‘महिला’तर्फ ४ राजनीतिक दलबाट, ‘दलित’तर्फ ३ राजनीतिक दलबाट, ‘अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय’तर्फ ४ राजनीतिक दलबाट र ‘अन्य’ समूहतर्फ ४ राजनीतिक दलबाट जम्मा १५ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

यता, गण्डकी प्रदेशमा ‘महिला’ समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, ‘अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय’का लागि २ राजनीतिक दलका तर्फबाट र ‘अन्य’ समूहका लागि ३ राजनीतिक दलका तर्फबाट कुल ८ उम्मेदवारको मनोनयन-पत्र दर्ता भएको छ।

आयोगका अनुसार लुम्बिनीमा ‘महिला’तर्फ ३ राजनीतिक दलबाट र ‘अन्य’तर्फ ४ राजनीतिक दलबाट जम्मा ७ जनाले मनोनयन-पत्र दर्ता गरेका छन्।

कर्णाली प्रदेशमा महिला समूहका लागि २, दलित समूहका लागि २ र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

सुदूरपश्चिममा महिलाका लागि २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयन-पत्र दर्ता भएको छ।

समग्रमा सातै प्रदेशमा महिलातर्फ १८, दलिततर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयन-पत्र दर्ता आयोगले जनाएको छ।

सुझावित समाचार