तीन सिटका लागि गण्डकीबाट आठजनाकाे उम्मेदवारी

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्तागठबन्धन र एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

राष्ट्रिय सभाअन्तर्गत गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो २० फागुनमा सकिँदै छ। गण्डकीमा अन्य, महिला र अपांगता/अल्पसंख्यक गरी तीन क्लस्टरका एक-एकजनाको पद रिक्त हुँदै छ। सोही रिक्त पदमा हुने निर्वाचनका लागि दलहरूका उम्मेदवारले सोमबार आ–आफ्नो मनोनयन दर्ता गरेका हुन्।

सत्तागठबन्धनका तर्फबाट तीन सिटमध्ये दुई सिटमा कांग्रेस र एक सिटमा माओवादीका तर्फबाट मनोनयन दर्ता गराएका छन्। कांग्रेसले अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यक क्लस्टरमा तनहुँका पदमबहादुर परियारले मनोनयन दर्ता गरेका हुन्। यस्तै, माओवादीको भागमा परेको महिला क्लस्टरमा पर्वतकी मनरूपा शर्माले मनोनयन दर्ता गराएकी छिन्।

यस्तै, नेकपा एमालेले अन्य क्लस्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता/अल्पसंख्यक क्लस्टरमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लस्टरमा गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अन्य क्लस्टरमा कास्कीका रोमबहादुर भण्डारी र महिला क्लस्टरमा तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्।

यस्ताे छ दलगत मतभार

गण्डकीमा हुने निर्वाचनमा प्रदेश सभाका ६० र प्रदेशका ११ जिल्लामा रहेका ८५ वटा पालिकाका प्रमुख र उपप्रमुख एक सय ७० गरी कुल दुई सय ३० जनाले मतदान गर्नेछन् । निर्वाचनमा प्रदेश सभाका एक मतदाताको मतभार ५३ र पालिकाको एक मतको मतभार १९ गरी गण्डकीको कुल मतभार ६ हजार चार सय १० छ। 

गण्डकीका दुई सय ३० मतदातामध्ये प्रदेश सभाका २७ र पालिकाका ६७ गरी ९४ जना मतदाता कांग्रेसका छन्। कुल मतभारमध्ये कांग्रेसको प्रदेश सभातर्फ एक हजार चार सय ३१ र पालिकातर्फ एक हजार दुई सय ७३ गरी कुल दुई हजार सात सय चार छ।

दुई सय ३० मतदातामध्ये प्रदेश सभातर्फ २२ र पालिकातर्फ ६८ गरी ९० जना मतदाता एमालेका छन्। कुल मतभारमध्ये एमालेको प्रदेश सभातर्फ एक हजार एक सय ६६ र पालिकातर्फ एक हजार दुई सय ९२ गरी कुल दुई हजार चार सय ५८ छ। 

प्रदेश सभाका आठ र पालिकाका ३० गरी ३८ जना मतदाता रहेको माओवादीको प्रदेश सभातर्फ चार सय २४ र पालिकातर्फ पाँच सय ७० गरी नाै सय ९४ मतभार छ। 

प्रदेश सभाका दुई मतदाता रहेका राप्रपाको एक सय ६ मतभार छ। प्रदेश सभाको एक र पालिकाको एक गरी दुई मत रहेको एकीकृत समाजवादीको प्रदेश सभातर्फ ५३ र पालिकातर्फ १९ गरी ७२ मतभार छ। 

पालिकातर्फ तीन मतदाता रहेका जनमोर्चाको कुल मतभार ५७ रहेको छ। पालिकातर्फ एक मत रहेको स्वतन्त्रको मतभार १९ छ।

गण्डकीमा सत्तागठबन्धनमा रहेका दलहरूको बहुमत छ। कुल ६ हजार चार सय १० मतभारमध्ये सत्तागठबन्धनमा रहेका दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाको गरी तीन हजार आठ सय २७ छ। 

सुझावित समाचार