राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट सत्तागठबन्धनका चारजना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा सोमबार सत्तागठबन्धनका चारै उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
सत्तागठबन्धनका दलहरूबीच बागमतीमा रिक्त हुने राष्ट्रिय सभाका चार सदस्यमध्ये कांग्रेसलाई दुई तथा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक–एक सिट दिने सहमति भएको थियो ।
सोही सहमतिअनुसार कांग्रेसबाट महिला क्लस्टरमा विष्णुकुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दिएका छन् । माओवादीबाट अपांगता भएकाहरूको क्लस्टराबाट श्रीकृष्ण अधिकारी र दलित क्लस्टरबाट एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन् ।
