पछिल्लो समय विश्वव्यापारमा उतारचढाव आएका कारण दक्षिण एसियाली मुलुकहरूले एकीकृत लाभ लिन नसकेको सरोकारवालाले औँल्याएका छन् । विश्वव्यापार संगठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा भएको दुईदिने ‘डब्लुसिपी नेपाल– एआइबी साउथ एसिया कन्फ्रेन्स, २०२४’ को पहिलो दिन ‘विश्वव्यापार र दक्षिण एसियाका चुनौती र अवसरहरू’ शीर्षकको छलफलमा सरोकारवालाले यस्तो बताएका हुन् ।
प्यानलका वक्ता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव चन्द्रकुमार घिमिरेले अहिलेसम्म अन्तरक्षेत्रीय व्यापारको तह ५ प्रतिशत हाराहारी मात्रै रहेको बताए । उनले भने, ‘अहिले अन्तरक्षेत्रीय व्यापार २३ बिलियन अमेरिकी डलर हाराहारीमा मात्रै भइरहेको छ । जबकि त्यसलाई बढाएर ६२ बिलियन अमेरिकी डलर हाराहारीमा लैजाने ठाउँ छ ।’ यसर्थ, हाल भएका अवरोधहरू हटाएर व्यापारको आकार बढाउन सकिने उनले सुझाव दिए । मुलुकमा थप लगानी नभित्रिएसम्म उत्पादन नबढ्ने भएकाले लगानी भित्र्याउनमै बढी काम गर्नुपर्छ । साथै, व्यापारका लागि आवश्यक पूर्वाधार पनि नभएकाले लगानी नआएको हुन सक्ने उनको अनुमान छ । नेपालले अन्य मुलुकको व्यापारसँग जोडिन अहिलेको पूर्वाधारले नपुगेको उनको भनाइ छ ।
सामूहिक छलफलमा पूर्वसचिव घिमिरेसँगै राष्ट्रिय सुरक्षा परिषद्का पूर्वमुख्य सचिव शंकरदाश वैरागी, योजना आयोगका सदस्य सचिव डा. तोयानारायण ज्ञवाली, स्टडिज युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्स, चीनकी प्रो. सिनक्वा तु, भारतीय विदेश व्यापार संस्थान कोलकाताका प्रो. देवासिस चक्रवर्ती र नेपाल उद्योग वाणिज्य महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला मञ्चका अध्यक्ष मनोज पौडेल सहभागी थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर अच्युत वाग्लेले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको सन्दर्भमा नेपालले फरक खालको वाणिज्य नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए । नेपालले विश्वबजारमा प्रतिस्पर्धाका लागि अग्र र पृष्ठपोषणसहितको वस्तु उत्पादनमा जोड दिनुपर्ने वाग्लेको भनाइ छ ।