अस्पतालको स्तराेन्नतिको विषयमा प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकर साहको परिवारले शव बुझेका छन्। पोस्टमार्टपछि शव सोमबार परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । परिवारले शव बरहथवा नगर परिक्रमापछि बरहथवा नगरपालिकास्थित बागमती नदी किनार खर्साल घाटमा अन्तिम संस्कार गर्ने तयारी रहेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको अध्यक्षतामा बसेको छलफलबाट ११बुँदे सहमति भएपछि गएराति ९ बजेको समयमा प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल मलंगवा पुर्याएको थियो । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मलंगवा प्रवक्ता डिएसपी दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।
निरन्तरको प्रयासपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी धमलाको नेतृत्वमा पीडित पक्ष, मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंह, अर्थमन्त्री सञ्जय यादव, प्रदेश सभा सदस्य कौशलकिशोर राय, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, मधेश प्रदेशका प्रहरी प्रमुख (डिआइजी) जनक भट्टराई, मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख (डिआइजी) दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धान मधेश प्रदेशका प्रमुख (अनुसन्धान निर्देशक) सञ्जयकुमार यादव साँझ अबेरसम्म छलफलमा जुटेका थिए ।
छलफलमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सबै पक्षले आ–आफ्नोतर्फबाट घटना सम्बन्धमा स्वतन्त्र निष्पक्ष छानबिन गर्न सहयोग गर्ने, पीडितको आश्रित परिवारको एकजना सदस्यलाई बरहथवा नगरपालिकामा रोजगारी उपलब्ध गराउने, प्राथमिक स्वास्थ्य संस्थाको स्तराेन्नतिपश्चात् कानुनी प्रक्रिया पूरा गरी नगर अस्पताल मधेश प्रदेशलाई हस्तान्तरण गर्ने । अस्पताल सञ्चालन सम्बन्धमा बरहथवा नगर प्रमुख र मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्रीको सहकार्य एवं छलफलबाट टुंग्याउने सहमति भएको थियो ।
यस्तै, अस्पताल परिसर र स्थानीयले चाहेको स्थानमा मृतक जयशंकर साहको सालिक स्थापना गर्ने, त्यसैगरी, उद्योग वाणिज्य संघ बरहथवासहित पाँचदलीय गठबन्धन (कांग्रेस, जसपा, लोसपा, जनमत र बहुजन एकता पार्टी)ले सबै विरोधका कार्यक्रम स्थगित गर्ने र विगतलाई बिर्सी आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक सञ्चालनका लागि सबै पक्षले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
छलफलले दोषी प्रहरी कर्मचारीलाई छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने, मृतकलाई सहिद घोषणा गर्ने प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने, आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी संरचना, सवारीसाधनलगायत सम्पत्तिको क्षतिको मूल्यांकन गरी सम्बन्धित निकायबाट क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गर्ने निर्णयसमेत गरेको जनाएका हो।
सरकारले गएको शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विवादमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको मृत्युको सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव तथा सर्लाहीका पूर्वप्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ भने मृतकको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने निर्णयसमेत गरिसकेको छ ।
सहमतिसँगै बरहथवा शान्त
पीडित पक्षसँग सहमति भएसँगै बरहथवा क्षेत्र आइतबार साँझबाट शान्त बन्दै गएको छ । सहमतिसँगै पीडित पक्षले प्रहरीलाई शव उठाउन दिएका थिए । तीन दिनदेखिको तनावका कारण अस्तव्यस्त बनेको बरहथवा बजार क्षेत्रमा बिहानैदेखि चहलपहल सुरु भएको स्थानीयको भनाइ छ । उद्योग वाणिज्य संघ बरहथवालगायत पाँच दलले समेत आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरेका छन् । आन्दोलन उग्र बनेपछि आइतबार दिनभरि बरहथवा बजार क्षेत्र रणभूमिमा परिणत भएको थियो ।
सोही क्रममा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयपरिसरमा रहेको फुसको छानो भएको प्रतीक्षालयमा आगजनी गर्नुका साथै कार्यालयमा ढुंगामुढा गरेका थिए । घटनामा दर्जनौँ अश्रुग्यास तथा हवाईफायर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।