भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न थप तीन अन्तरदेशीय प्रसारणलाइन बनाउने प्रस्ताव गरिएको छ । शनिबार चितवनमा सम्पन्न नेपाल–भारत ऊर्जासविचस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को ११औँ बैठकमा यसबारे प्रारम्भिक सहमति भएको छ ।
बैठकमा नेपालको चार सय केभी क्षमताका निजगढ–मोतीहारी, अनारमनी–किसनगन्ज र लमही–लखनउ विन्दुमा अन्तरदेशीय प्रसारणलाइन बनाउने प्रस्तावमा भारतले सहमति जनाएको हो । यद्यपि, सहमतिपत्रमा प्रस्तावित आयोजना उल्लेख छैन । यसबारे अध्ययन गर्न संयुक्त प्राविधिक समूहलाई निर्देशन भने दिइएको छ । ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठित यो समूहमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिडका प्रतिनिधि छन् ।
अहिले नेपाल र भारतबीच एक सय ३२ केभी क्षमताका पाँच र चार सय केभी क्षमताको एक (ढल्केबर–मुजफ्फरपुर) प्रसारणलाइन छन् । एक सय ३२ केभीका पाँच लाइनबाट सात सय २० मेगावाट र ढल्केबर–मुजफ्फरपुरबाट दुई हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ । एसजेभिएनले ढल्केबर–सीतामढीमा चार सय केभीको प्रसारणलाइन बनाउँदै छ ।
चार सय केभीकै न्यु बुटवल–गोरखपुर प्रसारणलाइन पनि निर्माणमा जाँदै छ । यसैगरी, इनरवा–पुर्णिया सन् ०२७/२८ मा र न्यु लम्की–बरेली ०२८/२९ भित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ । यीबाहेक थप अन्तरदेशीय प्रसारणलाइन बनाउन अध्ययन गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका सहसचिव नविराज सिंहले बताए । ‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सञ्चालन र निर्माण प्रक्रियामा रहेका प्रसारणलाइनले पुग्दैन । त्यसैले थप प्रसारणलाइन बनाउने सहमति भएको छ,’ उनले भने ।
गत बिहीबार नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्बन्धमा अन्तरसरकारी सम्झौता भइसकेको छ । उक्त सम्झौताको कार्यान्वयनमा सहयोग पुग्ने गरी बैठकमा विभिन्न सहमति भएको सिंहले बताए ।यसैगरी, इनरवा–पुर्णिया र न्यु लम्की–बरेली प्रसाणलाइनको लगानी मोडल अर्काे बैठकमा टुंग्याउने सहमति गरिएको छ । नेपालले नेपाल खण्डको आफैँ र भारत खण्डको संयुक्त रूपमा बनाउने प्रस्ताव गरेको छ ।
यसबारे अर्काे बैठकमा टुंगो लाग्नेछ । बैठकमा ढल्केबर–मुजफ्फरपुरबाट प्रवाह हुने विद्युत्को परिमाण आठ सय मेगावाटबाट बढाउने सहमति पनि भएको छ । उक्त प्रसारणलाइनबाट दुई हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिन्छ । तर, भारतले नेपालको सबस्टेसन, प्रसारणलाइन, ट्रान्सफरजस्ता आन्तरिक पूर्वाधार र लाइनमा हुन सक्ने सम्भावित नोक्सानीलाई दृष्टिगत गर्दैै आठ सय मेगावाटको सीमा तोकेको छ । अब संयुक्त प्राविधिक समूहबाट अध्ययन गराएर त्यसको सीमा बढाउने सहमति भएको छ ।
यसैगरी, ढल्केबर–मुजफ्फरपुर र निर्माणाधीन ढल्केबर–सीतामढीबाट प्रवाह गर्न सकिने विद्युत्को क्षमता निर्धारण गर्न प्राविधिक समूहबाट अध्ययन गराउने निर्णय भएको छ । एक सय ३२ केभी क्षमताको टनकपुर–महेन्द्रनगर प्रसारणलाइनको पनि क्षमता बढाउने वा अन्य वैकल्पिक लाइन बनाउन अध्ययन गर्ने सहमति पनि भएको छ । दुवैतर्फको आन्तरिक पूर्वाधारले गर्दा प्रसारणलाइनको क्षमता बढाउन चुनौती छ । त्यसैले वैकल्पिक प्रसारणलाइनसहित यसबारे अध्ययन गरिने प्राधिकरणका उपकार्यकारी निर्देशक श्रेष्ठले बताए ।
भारतले उत्तर प्रदेश र बिहारको ग्रिडबाट नेपालमा विद्युत् आदान–प्रदान गर्न दिने सहमति भएको छ । अब नेपालले बिहार र उत्तर प्रदेशको ग्रिडबाट भारतीय बजारमा विद्युत् बिक्री गर्न सक्नेछ ।अहिले प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर लाइनबाट भारतमा विद्युत् निर्यात–आयात गर्दै आएको छ । जुन सीधै भारतको केन्द्रीय प्रसारण प्रणाली (ग्रिड)मा जोडिएको छ । अन्य अन्तरदेशीय प्रसारणलाइन भने भारतको प्रदेशस्तरीय लाइनसँग जोडिएका छन्, जसबाट सम्बन्धित प्रदेशमा मात्रै विद्युत् आदान–प्रदान गर्न सकिन्छ ।
भारतले २० प्रतिशत रिजर्भसहित विद्युत् निर्यातको स्वीकृति दिने
भारतले नेपाललाई प्रसारणलाइनको स्वीकृत क्षमताभन्दा २० प्रतिशत बढी मात्रामा विद्युत् निर्यातको सहमति पनि दिएको छ । भारतले आयोजना तोकेर विद्युत् निर्यातका लागि स्वीकृत दिँदै आएको छ । कुनै वेला स्वीकृत आयोजनाहरू सञ्चालनमा नआएमा तोकिएअनुसार विद्युत् निर्यात हुन सक्दैन । त्यसैले रिजर्भबापत २० प्रतिशतभन्दा बढी मात्रामा आयोजना स्वीकृत दिने सहमति भएको हो ।
अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनमा आठ सय मेगावाट विद्युत् प्रवाह गर्ने स्वीकृत छ । भारतले त्यसको २० प्रतिशत बढी अर्थात् नौ सय ६० मेगावाट विद्युत् निर्यात गर्न स्वीकृत दिन सक्नेछ । तर, निर्यात भने आठ सय मेगावाट नै गर्न पाइने श्रेष्ठले बताए ।
बंगलादेशसँग पिपिए गर्न सैद्धान्तिक छलफल
बैठकमा नेपालबाट भारतीय प्रसारणलाइन प्रयोग गर्दै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न सैद्धान्तिक छलफलसमेत भएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलमेन्ट बोर्डबीच त्रिपक्षीय सम्झौता हुँदै छ, यसमा भारतको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता आएको छ ।
पाँच वर्षमै १० हजार मेगावाट उत्पादन गर्छौँ : इप्पान
निजी क्षेत्रले पाँच वर्षमै १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आइतबार पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेको हो । त्यसका लागि वन तथा वातावरण, जग्गा प्राप्ति, रूख कटानीमा भएका जटिलता हटाएर प्रोत्साहन गर्नुपर्ने इप्पान अध्यक्ष गणेश कार्कीले बताए । यसका लागि नीतिगत सुधारसँगै बैंकहरूले २० प्रतिशत अनुपातमा ऊर्जामा लगानी गर्नुपर्ने नीति ल्याउनुपर्ने उनले बताए । यस्तै, इप्पानले दीर्घकालीन विद्युत् व्यापार सम्झौताबाट निजी क्षेत्रले ठूलो लाभ लिन सक्ने पनि बताएको छ । अब प्राधिकरणले पिपिए पूर्ण रूपमा खुला गर्नुपर्ने इप्पानको माग छ । साथै, निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति पनि दिनुपर्ने इप्पानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।