समिति सभापति चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

 सुदूरपश्चिम प्रदेश सभा सचिवालयले विषयगत समितिको नेतृत्व चयन प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सभाका चारवटा विषयगत समिति सभापति चयनका लागि २५ पुसमा मतदान दिन तोकेर सचिवालयले आइतबार निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गरेको छ । सत्तागठबन्धनबीच समिति नेतृत्वमा भागबन्डा नमिल्दा समिति नेतृत्वविहीन छन् ।

२४ पुसमा समिति सभापतिका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । त्यही दिन मतदाता नामावली तथा उम्मेदवारविरुद्ध दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभामा विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ विकास तथा प्राकृतिक स्रोत र सामाजिक विकास गरेर चारवटा विषयगत समिति छन् । 

प्रदेश सभा सचिवालयले सभापति चयन प्रक्रिया अगाडि बढाए पनि गठबन्धनबीच नेतृत्वमा सहमति भइसकेको छैन । तीनवटा समितिका लागि गठबन्धनका चार दलको दाबी छ । कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीको एक–एक समितिमा दाबी छ । यद्यपि, यसबारे गठबन्धनमा औपचारिक छलफल भएको छैन । संसदीय परम्पराअनुसार सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षले पाउनेछ । 

प्रदेश सभा सचिवालयले यसअघि गत असोजमा सभापति चयन प्रक्रिया अगाडि बढाएको थियो, तर मुख्यमन्त्री कमलबहादुर शाहले अन्तिम समयमा निर्वाचन स्थगित गर्न लगाएका थिए । 

सुझावित समाचार