राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारसम्बन्धी निर्णय लिन बसेको कांग्रेस संसदीय बोर्डको बैठकले अहिलेसम्म सहमति जुटाउन सकेको छैन। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा संस्थापन र इतर समूह आआफ्नै अडानमा रहेपछि सहमतिमा सकस देखिएको हो।
राष्ट्रिय सभाका रिक्त हुने २० मध्ये सत्तागठबन्धनसँगको सहमतिअनुसार कांग्रेसले १० उम्मेदवार तय गर्दै छ। पार्टी सभापति शेरबहादुर देउवाले १० मध्ये इतर समूहलाई तीनजना उम्मेदवार बनाउन चाहेका छन्।
शेखर–गगन समूह भने आफ्नो समूहबाट चारजनालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउनुपर्ने अडानमा छ। लगातारको छलफलमा दुवै समूह टसमस नभएपछि बैठकस्थल छाडेर इतर समूहका नेता डा. शेखर कोइराला बाहिरिएका छन्।
उनी बाहिरिए पनि इतर समूहका अन्य नेताहरू महामन्त्री गगनकुमार थापा, अर्जुननरसिंह केसी, बद्री पाण्डे, जीवन परियार, बलबहादुर केसीलगायत अलग्गै छलफलमा छन् । देउवा पनि आफ्नो समूहका नेतासँग छुट्टै छलफलमा बसेका छन्।
बैठकस्थलबाट बाहिरिने क्रममा कोइरालाले सञ्चारकर्मीहरूसँग आफू संसदीय बोर्डमा नरहेको र लामो समय कुर्दा पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबसेकाले बाहिरिएको प्रतिक्रिया दिए।
