जापान भूकम्प : मृतकको संख्या सयभन्दा बढी पुग्यो, २११ जना बेपत्ता

शनिबार, २१ पुष, २०८०
डिजिटल संस्करण

जापानको इसिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या सयभन्दा बढी पुगेको छ।

भूकम्पमा परी इसिकावामा शनिबारसम्म २११ जना बेपत्ता भएका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेका छन्।

एएफपीका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या ११० तथा बेपत्ता हुनेको संख्या २१० पुगेको छ। भूकम्पबाट सबैभन्दा धेरै प्रभावित तटीय सहर बाजिमामा ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ। भवन भत्किँदा बाजिमामा करिब १०० व्यक्ति फसेको अपुष्ट विवरणहरू आइरहेका छन्।

जापान मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए)ले स्थानीय समयअनुसार शनिबार बिहान ५ः२५ बजे नोटो क्षेत्रमा पुनः ५.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। 

यस क्षेत्रमा शनिबार वर्षाको सम्भावना रहेकाले स्थानीय बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको छ। जापानको राष्ट्रिय समाचार संस्था (क्योदो)का अनुसार भूकम्पका कारण इसिकावाका पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

स्थानीय समयअनुसार शनिबारसम्म २४ हजार घरधुरीले विद्युत् अवरोधको सामाना गर्नुपरेको छ। १४ वटा सहरका ६६ हजार घरधुरी खानेपानीविहीनताको अवस्थामा छन्।

सुझावित समाचार