जापान भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२ पुग्यो, २४२ बेपत्ता

शुक्रबार, २० पुष, २०८०
डिजिटल संस्करण

जापानको इसिकावामा ७.६ म्याग्निच्युडको  भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको संख्या ९२ पुगेको छ। यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको र क्षतिको तथ्यांक भने बढ्दै गएको देखिन्छ। 

स्थानीय समयअनुसार शुक्रबार बिहान ९ बजेसम्म इसिकावामा दुई सय ४२ जना बेपत्ता भएको जापानी समाचार संस्था, क्योदोले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ। 

भूकम्पपछि सबैभन्दा प्रभावित तटीय सहर वाजिमामा अझै पनि ४० भन्दा बढी मानिस भग्नावशेषमा फसेका छन्। जापानको सेल्फ डिफेन्स फोर्सका अनुसार, प्रहरी र दमकल विभागका चार हजार ६ सय कर्मचारी मिलेर बेपत्ताको खोजी तथा सुरक्षाको पुष्टि गर्ने  प्रयास गरिरहेका छन्।

क्योदोका अनुसार जापानको भू–स्थानिक सूचना प्राधिकरणलाई उद्धृत गर्दै वाजिमा सहरको केन्द्रमा भुइँचालोका क्रममा आगलागी भएपछि करिब ४८ हजार वर्गमिटर क्षेत्रफल नष्ट भएको छ।

क्षतिग्रस्त क्षेत्रका १० भन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध भएकाले अत्यावश्यक सामग्री पुर्याउन चुनौती  थपिएको छ। यसैबीच, सात सयभन्दा बढी व्यक्ति भूकम्प प्रभावित वाजिमाका वरपरका विभिन्न स्थानमा फसेका छन्।

भूकम्पले यस क्षेत्रको पूर्वाधारमा गम्भीर असर परेको छ। लगभग तीस हजार घरधुरीले विद्युत् अवरुद्धताको सामना  गरिरहेका छन्। करिब १३ सहरका ८० हजार घरधुरीलाई खानेपानी आपूर्तिमा समस्या भएको छ। 

इसिकावामा करिब तीन सय ७० निकासी केन्द्रमा करिब ३३ हजार मानिस बसेका छन्। शौचालयलगायतका सरसफाइसम्बन्धी विषयमा पनि चिन्ताजनक अवस्था देखा परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।  

सोमबार इसिकावाको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। जापान मौसम विज्ञान अनुसन्धानसम्बन्धी निकायले भूकम्पलाई नोटो प्रायद्वीप भूकम्प २०२४ नामकरण गरेको छ। रासस 

सुझावित समाचार