ज्यान मार्ने कसुरमा फरार अभियुक्त पक्राउ

शुक्रबार, २० पुष, २०८०
डिजिटल संस्करण

घरधनीलाई आगो लगाएपछि आफ्नो शरीरमा समेत आगो लगाएका, तर पछि अदालतले ज्यान मार्ने कसुरमा सजाय सुनाएका एकजनालाई कास्की प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका– ६ घर भई हाल पोखरा– १३ काहुँखोला बस्ने वर्ष ४४ का कृष्णबहादुर क्षेत्री रहेका छन् । कास्की जिल्ला अदालतले १८ भदाै ०८० मा क्षेत्रीलाई ज्यानसम्बन्धी कसुरमा १० वर्ष कैद र एक लाख चार हजार जरिवाना गर्ने फैसला सुनाएको थियो ।

नौ वर्ष ११ महिना १८ दिन कैद र एक लाख चार हजार जरिवाना भुक्तान गर्न बाँकी रही हालसम्म फरार रहेका थापालाई कास्की प्रहरीले बिहीबार पक्राउ गरेको हाे । पक्राउ पछि क्षेत्रीलाई अदालतमा पेस गरेसँगै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

यस्तो छ घटना   

१५ माघ ०७९ का दिन पोखरा महानगरपालिका– १३ काँहुखोलास्थित एक घरमा भाडामा बस्नेले बाथरुमभित्र गएर आफ्नो शरीरमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेको र शरीरमा तेल खन्याएर जल्दै गरेको अवस्थामा देखेपछि उनलाई बचाउन गएकी घरधनी गरी दुईजना घाइते भएको भन्ने घटना सार्वजनिक भयो । 

घरधनी थिइन् ४० वर्षीया संगीता सापकोटा । सापकोटाको घर भाडामा लिएर स्टेसनरी पसल सञ्चालन गर्दै आएका थिए कृष्णबहादुर क्षेत्री । जलेर घाइते भएका उनीहरूलाई तत्कालै उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियो । 

अस्पताल लगेपछि क्षेत्रीको सर्जिकल वार्ड र सापकोटाको आइसियूमा राखेर उपचार सुरु गरिएको थियो । आगोका कारण संगीताको शरीरमा ८५ प्रतिशत र क्षेत्रीको २५ प्रतिशत शरीर जलेको थियो । 

क्षेत्रीको हात र खुट्टामा आगोले असर गरेको थियो भने संगीताको पूरै शरीरमा आगोले क्षति पुगेको थियो । उपचारको क्रममा संगीताको भोलिपल्ट अर्थात् १६ माघमा मृत्यु भयो । क्षेत्री भने केही समयमको उपचारपछि निको भए । 

घटना शंकास्पद रहेको देखेपछि संगीताको परिवारले केही दिनपछि क्षेत्रीका विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले आवश्यक अनुसन्धान गरेपछि प्रहरीमार्फत मुद्दा कास्की अदालतमा पुगेको थियो । मुद्दापछिको बयानका क्रममा आफूले आगो लगाएको र संगीता आफूलाई बचाउन आएको र सोही क्रममा जलेको क्षेत्रीले बताउँदै आएका थिए । 

अदालतले सुरुमा उनलाई धरौटी तारेखमा छाडेको थियो । धरौटी तारेखमा छुटेका क्षेत्री त्यसपछि फरार भएका थिए । फरार रहेकै अवस्थामा अदालतले क्षेत्रीलाई दोषी ठहर गर्दै १८ भदाै ०८० मा ज्यानसम्बन्धी कसुरमा १० वर्ष कैद र एक लाख चार हजार जरिवाना गर्ने फैसला सुनाएको थियो । फरार रहेका क्षेत्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

सुझावित समाचार