सिटिजन्स बैंक इन्टरनेसनल र सिद्धिखोला जलविद्युत आयोजनाबीच कर्जा सम्झौता सम्पन्न भएको छ।
सिटिजन्स बैँक इन्टरनेसलनले इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा निर्माण हुने सिद्धि हाइड्रोपावर कम्पनी लि प्रवर्द्धक रहेकोे १० मेगावाट क्षमताको सिद्धिखोला जलविद्युत् आयोजनामा प्रवर्द्धक कम्पनी र बैँकबीच बिहीबार सम्झौता भएको जनाएको छ।
सम्झौतामा बैंकका प्रमुख–कन्सोटियम-इन्फ्रास्ट्रक्चर बैंकिङ युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध सञ्चालक सन्तोषराज नेपालले हस्ताक्षर गरेका छन।
परियोजनाको अनुमानित लागत करिब रु. एक अर्ब ७३ करोड (निर्माण अवधिको ब्याजबाहेक)मा बैंकले ७५ः२५ को ऋण : स्वपुँजी अनुपातमा रु. एक अर्ब २९ करोडबराबरको ऋण लगानी गर्नेछ। यस्तै, निर्माण अवधिको ब्याजसहित बाँकी लागत प्रवर्द्धकहरूबाट स्वपुँजी जुटाइने बैंकले जनाएको छ।
सो आयोजनाले आगामी २.५ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य छ। कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घन्टा र वर्षामा ४६.९११ गिगावाट घन्टा गरी वार्षिक ५५.७१६ गिगावाट घन्टा विद्युत् उत्पादन गरिनेछ।