सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्वअध्यक्ष राईका मुख्य सहयोगी भोटे पुर्पक्षका लागि थुनामा

बिहिबार, १९ पुष, २०८०
डिजिटल संस्करण

सूर्यदर्शन बचत तथा क्रण सहकारीको ठगी प्रकरणमा पूर्वअध्यक्ष गीतेन्द्रबाबु राई (जिबी) का मुख्य सहयोगी पोखराका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) पुर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला अदालत कास्कीले थुनछेक बहसपछि सहकारीका पूर्वसञ्चालक सदस्यसमेत रहेका गुरुङ र सहकारीका सञ्चालक समिति सदस्य भविश्वर अर्याललाई बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

प्रहरीले गुरुङविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्ने तयारीसमेत गरेको अवस्थामा उनी आफैँ आएर अदालतमा आत्मसमर्पण गरेका हुन् । गुरुङ एमालेको भ्रातृ संस्था युवा संघका केन्द्रीय उपमहासचिव हुन् । गुरुङ ०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा एमालेका तर्फबाट उम्मेदवार भएर पराजित भएका थिए । गुरुङ सहकारी ठगीको मुख्य आरोपी भनिएका पूर्वअध्यक्ष जिबीका मुख्य सहयोगी हुन् । जिबी र गुरुङ मिलेर सहकारीको रकम हिनामिना गरेको आरोप छ ।

सहकारीमा रहेको आफ्नो बचत फिर्ता नपाएपछि बचतकर्ताले पोखरा महानगरपालिका– १६ लामाचौरका किरण श्रेष्ठको संयोजकत्वमा सूर्यदर्शन बचतपीडित संघर्ष समिति गठन गरेका छन् । भवनसँगै सहकारीबाट गुरुङले एकपटक आठ करोड ५० लाख र अर्को किस्तामा दुई करोड ६१ लाख गरी ११ करोड एक लाख बढी रकम कर्जा लिएर अपचलन गरेको देखिएको उनले जानकारी दिए । जिबीबाट गुरुङको नाममा आएको पोखराको सो भवनपछि काठमाडौंस्थित जिबीले सञ्चालन गरेको स्वर्णलक्ष्मी बचत तथा क्रण सहकारी संस्थालाई पछि गुरुङले मञ्जुरीनामा दिएर १२ करोडभन्दा धेरै रकम निकालेको देखिएको श्रेष्ठले बताए ।

सहकारीका ठगी गरेको आरोप लागेका र प्रहरीले पक्राउ पुर्जी जारीसँगै अदालतमा मुद्दा दर्ता भएका १९ मध्ये हालसम्म चारजना पुर्पक्षका लागि थुनामा गएका छन् । १५ जना फरार छन् । बुधबार गुरुङ र अर्यालसँगै यसअघि १६ पुसमा सहकारीका उपाध्यक्ष जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका– ७ घर भएका कैलाशकुमार दर्लामी र सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई अदालतले २१ असोजमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 
 

सुझावित समाचार